५ जेष्ठ २०८१, शनिबार

दिल्लीमा विधानसभा चुनावको मतगणनाको तयारी पूरा


दिल्ली

नयाँदिल्ली, २७ माघ । नयाँदिल्लीमा शनिबार सम्पन्न विधानसभा चुनावको मतगणना भोलि अर्थात् मङ्गलबार हुँदैछ । दिल्ली निर्वाचन आयोगका प्रमुख रनबिर सिंहले मतगणनाका लागि दिल्लीका विभिन्न स्थानमा २१ वटा केन्द्रको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

मतगणना कार्य बिहान ८ बजे शुरु हुनेछ । विद्युतीय मतदान भएकाले चुनावी परिणाम मङ्गलबार नै सार्वजनिक हुने अनुमान गरिएको छ । उहाँले दिल्लीको मतदान केन्द्रहरुमा खटिएका मतदान अधिकृतहरुले दिनरात लगाएर तथ्याँकहरु रुजु गरिरहेको जानकारी दिनुभयो । सिंहले चुनावको नतिजा स्वच्छ र विश्वसनीय बनाउन आयोगले हरसम्भव प्रयास गरिरहेको छ भन्नुभयो ।

दिल्लीको सत्तारुढ आम आदमी पार्टी (आप) का नेताहरुले निर्वाचन समाप्त भएपछि विद्युतीय मतदान उपकरणहरु अनधिकृत तरिकाबाट अन्यत्र लगिएको भन्दै विरोध जनाएका छन् । तर प्रमुख आयुक्त सिंहले आपको उक्त दाबीमा सत्यता नरहेको दाबी गर्नुभयो ।

उहाँले पर्यवेक्षक र सबै दलका उम्मेदवारहरुको रोहबरमा विस्तृत अनुसन्धान पनि गरिसकेको पनि बताउनुभयो । अनुसन्धानमा विद्युतीय मतदान केन्द्रहरु सबै ठीक र दुरुस्त अवस्थामा रहेको भेटिएको पनि उहाँले बताउनुभयो ।

नयाँदिल्लीको ७० स्थानका लागि भएको निर्वाचनको नतिजाप्रति सबैको ध्यान गएको छ । चुनावपछि सार्वजनिक मतसर्वेक्षणले मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा रहेको आपले दुई तिहाई स्थान जित्ने अनुमान प्रस्तुत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !