११ जेष्ठ २०८१, शुक्रबार

क्युबाले युरोपेली लगानी भित्र्याउन पहल गर्ने


Nepalpatra

हवाना, ६ असार । क्युबाले युरोपेली युनियनका मुलुकहरुबाट विदेशी लगानी भित्र्याउन व्यापार सम्मेलन आयोजना गर्न लागेको जनाएको छ । क्युबाका वैदेशिक व्यापार तथा विदशी लगानी मन्त्री रोड्रिगो माल्मिर्काले ट्वीट गर्दै यस्तो जानकारी दिनुभएको हो ।

युरोपेली युनियनका अन्तर्राष्ट्रिय सहयोग तथा विकास आयुक्त नेभिन मिमिकाले शुक्रबार आयोजना गरिने सम्मेलनमा सहभागिता जनाउनुहुनेछ । उक्त सम्मेलन क्युबाको च्याम्बर अफ कमर्सले आयोजना गर्न लागेको हो । सम्मेलनमा राष्ट्रसंघीय निकायहरु पनि सहभागी हुँदैछन् ।

क्युबा–युरोपेली युनियनबीच ऊर्जा र खाद्य सुरक्षा जस्ता क्षेत्रमा सहकार्य वृद्धि गर्ने प्राथमिकता तोकिएको छ । हाल युरोपेली युनियन नै क्युबाको प्रमुख व्यापारिक साझेदार र सबैभन्दा ठूलो लगानीकर्ता रहेको छ । क्युबा सरकारका अनुसार स्पेनसँग क्युबाको व्यापार सबैभन्दा बढी छ ।

गत वर्ष क्युबासँग युरोपेली युनियनको व्यापार करिब २ अर्ब ९० करोड अमेरिकी डलर थियो ।

संयुक्तराज्य अमेरिकासँग व्यापारिक सम्बन्ध चिसिएसँगै क्युबाले युरोपेली मुलुकसँग व्यापारिक साझेदारी बढाउन चोहेको छ । अघिल्लो साता बेलायती व्यवसायीहरुसँग पनि क्युबाले व्यापार र लगानीका विषयमा छलफल गरेको थियो । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !