४ जेष्ठ २०८१, शुक्रबार

‘यही अवस्थामा’ अमेरिकासँग वार्ताको सम्भावना छैन : रौहानी


तेहरान, ७ जेठ । इरानका राष्ट्रपति हसन रौहानी वर्तमान् राजनीतिक अवस्थामा संयुक्त राज्य अमेरिकासँग वार्ता हुनसक्ने सम्भावना नरहेको बताउनुभएको तस्निम न्यूज एजेन्सीले मङ्गलबार बताएको छ ।

अमेरिकासँगको विवादास्पद बिषयमा इरानी कूटनीतिक पहल जारी राखेको बताउँदै इरान अमेरिकासँग यही अवस्थामा वार्ता गर्ने पक्षमा नरहेको राष्ट्रपति रौहानीले बताउनुभयो ।

“आजको वातावरण वार्ताका लागि अनुकुल छैन । अहिलेको अवस्थामा हाम्रो स्थिति ‘प्रतिरोधी र दृढ’ रहने छ,” राष्ट्रपति रौहानीले भन्नुभयो ।

“सम्पूर्ण इरानी जनताबीचको एकता र धीरताले मुलुककमा वासिङ्टनका कारण सिर्जना भएको आर्थिक चुनौतिलाई परास्त गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

गत हप्ता इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले पनि विवादास्पद बिषयमा तत्काल अमेरिकासँग वार्ता नहुने बताउनुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा अमेरिका लगायतका विश्व शक्ति राष्ट्रहरूबीच भएको इरानसँगको आणविक सम्झौताबाट फिर्ता हुने घोषणा र इरानमाथि नयाँ प्रतिबन्धको घोषणापछि अमेरिका र इरानबीचको तनाव बढेको हो ।

वासिङ्टनले इरानसँग चार बर्ष पहिले भएको सम्झौता अमेरिकी हितमा नभएको निष्कर्षसहित इरानी हतियार नियन्त्रणका लागि पुनः सम्झौता गर्नुपर्ने अडान प्रस्तुत गर्दै आएको छ भने इरान लगायत सम्झौताका अन्य हस्ताक्षरकर्ता राष्ट्रहरू पूरानै सम्झौतालाई जोगाउनु पर्ने बताउँदै आएका छन् ।

अमेरिकाले इरानी हतियारप्रतिको मोहका कारण मध्यपूर्वमा सुरक्षा चुनौति बढेको बताउँदै आएको छ ।(रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !