२२ बैशाख २०८१, शनिबार

स्लोभाकियामा क्यापुटोभा राष्ट्रपतिमा निर्वाचित


Nepalpatra

१७ चैत, ब्राटिस्लाभ । सरकारकी आलोचक एवं भ्रष्टाचार विरोधी अधिकारकर्मी जुजाना क्यापुटोभा स्लोभाकियाको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न दोस्रो चरणको निर्वाचनको मतपरिणाम अनुसार उहाँ स्लोभाकियाको पहिलो महिला राष्ट्रपति बन्न सफल हुनुभएको छ ।

वातावरण वकील क्यापुटोभाले कूल मतको ५८ दशमलब ४० प्रतिशत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी युरोपेली यूनियनका ऊर्जा आयुक्त मारोस सेफ्कोभिकले ४१ दशमलब ५९ मात्र मत पाएका थिए । तैपनि, मतगणनाको औपचारिक घोषणा आइतबार गरिने निर्वाचन आयोगले जनाएको छ ।

विजयी भएपछि प्रतिक्रिया दिँदै ४५ वर्षीया क्यापुटोभाले विपक्षीलाई गालीगलौज नगरी पनि चुनाव जित्न सकिन्छ भन्ने पुष्टी भएको बताउनुभयो । यही प्रवृत्ति युरोपेली संसद र अर्को वर्ष हुने स्लोभाक संसदको चुनावमा पनि दोहोरिने विश्वास व्यक्त गर्नुभयो ।

सत्तारुढ दलका तर्फबाट चुनावमा उठ्नुभएका ५२ वर्षीय सेफ्कोभिकले आफ्नो हार भएको स्वीकार्दै क्यापुटोभालाई विजयी भएकामा बधाई दिनुभएको छ । सत्तारुढ स्मेर–एसडी पार्टीका तर्फबाट प्रधानमन्त्री रहनुभएका पिटर पेलिग्रिनीले राष्ट्रपतिसँग रचनात्मक समझदारी निर्माण गरिने बताउनुभयो । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !