२० बैशाख २०८१, बिहिबार

किमसँगको कुराकानी लाभदायी : पोम्पेओ


Pompeo Asia

२२ असोज, सिओल । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली नेता किम जोङ–अनबीच कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणलगायतका बिषयमा भएको कुराकानी उत्पादनमुलक भएको बताइएको छ ।

दुई नेताबीच करिब दुई घण्टा कुराकानी भएको बताउँदै अमेरिकी विदेशमन्त्री पोम्पेओले भन्नुभयो, “वार्ता सही र उत्तपादनमुलक भएको छ ।” कुराकानीपछि उहाँहरूसँगै बसेर खाना खानुभएको थियो ।

दुई नेताबीच कोरियाली प्रायद्वीपको आणविक निशस्त्रीकरण प्रक्रिया र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली नेताबीचको दोस्रो शिखर सम्मेलनका बिषयमा केन्द्रित भएको उहाँले बताउनुभयो ।

विदेशमन्त्री पोम्पेओले दुवै देशको सहमतिमा छिट्टै अमेरिकी राष्ट्रपति र नेता किमबीचको दोस्रो वार्ताको मिति तथा स्थान तय गरिने जानकारी गराउनुभयो ।

अमेरिकी विदेशमन्त्री प्योङयाङबाट वार्तामा भएका बिषयलाई दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनलाई तथा विदेशमन्त्री काङ क्युङ ह्वालाई जानकारी गराउन आइतबार नै सिओलतर्फ प्रस्थान गर्नुभयो ।

राष्ट्रपति ट्रम्पले भनेजस्तै वार्ताका क्रममा धेरै चरण पार गर्नुपर्ने भएको र जसमध्ये आज एउटा चरण रहेको थियो । यो अगाडी बढ्ने मार्ग तय गर्नका लागी अर्को कदम हो, पोम्पेओले दक्षिण कोरियाली राष्ट्रपति मुनलाई ब्लु हाउसमा जानकारी गराउनुभयो । “त्यसैले मलाई लाग्छ यो हामी सबैका लागि राम्रो प्रतिफल भएको छ ।”

अमेरिकी कुटनीतिज्ञले आणविक निशस्त्रीकरण र वासिङटनसँगको ‘स्थिर सम्बन्ध’ निर्माण गर्न खेलेको भूमिकाका लागि सिओललाई धन्यवाद दिनुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीचको वार्तालाई वातावरण मिलाउने सिलसिलामा पोम्पेओ शनिबार जापान आइपुग्नुभएको थियो भने आइतबार प्योङयाङ आउनुभएको थियो । अमेरिकी विदेशमन्त्रीका रूपमा पोम्पेओको योे भ्रमण उत्तर कोरियाका लागि चौथो हो ।

पोम्पेओले शनिबारै टोकियोमा प्रधानमन्त्री सिन्जो आवे र विदेशमन्त्री तारो कानोसँग उत्तर कोरियाबारे छलफल गर्नुभएको थियो । उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गर्दा जापानी भूभाग भएर भएका र यसबाट जापानी जनतामा निकै त्रासको अवस्था बनेको थियो ।

जापानले प्योङयाङ नेतृत्वलाई कडा दबाब सिर्जना गर्नुपर्ने बताउँदै आएको छ । जापानी प्रधानमन्त्री आवेले उत्तर कोरिया र जापानबीचको सम्बन्ध सुधारका लागि प्रत्यक्ष वार्ता गरेर मात्र अघि बढ्न सकिने बताउनुभएको थियो ।

पोम्पेओ सिओलबाट सोमबार चीनका लागि प्रस्थान गर्नुहुनेछ । चीन उत्तर कोरियाको बलियो राजनीतिक तथा आर्थिक सहयोगी मानिने गर्छ । तर पोम्पेओको बेइजिङ बसाइ भने सहज नहुने देखिएको छ । केही दिनपहिले अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चीनलाई सैन्य उत्तेजना फैलाएको, व्यावसायिक चोरी गरेको, मानव अधिकार उल्लङ्घनका घटनामा बढोत्तरी गराएको र अमेरिकी निर्वाचनमा ट्रम्पविरुद्ध हस्तक्षेप गरेको लगायतका आरोप लगाएका कारण चीन अमेरिकासँग खुशी छैन । (रासस/योन्हाप)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !