२१ बैशाख २०८१, शुक्रबार

सिंगापुरमा हुने शिखर वार्ता विश्व शान्तिका लागि महत्वपूर्ण कदम


Kim-jong-un-donald-trump

२८ वैशाख, सिंगापुर । सिंगापुरका प्रधानमन्त्री लि सेन लुङले अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको शिखर वार्ता शान्ति स्थापनाका लागि एक महत्वपूर्ण कदम भएको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच लामो समयदेखि प्रतिक्षा गरिएको एक महत्वपूर्ण शिखर बैठक आगामी जुन १२ मा हुने भएको छ ।

प्रधानमन्त्री लिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटको प्रतिउत्तरमा भन्नुभएको छ– हामीलाई लाग्छ यसले आगामी दिनमा विश्व शान्तिको लागि सही मार्गनिर्देश गर्नेछ ।

उत्तर कोरियाली नेता र राष्ट्रपति ट्रम्पबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिँदै आएको तनाव अन्त्य गर्ने र उत्तर कोरियाको आणविक हतियारबारेको अन्योल हटाउने विषयमा सिंगापुरमा जुन १२ मा वार्ता हुन लागेको हो ।

विश्व समुदायबाट व्यक्त चासोको अन्त्य गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा बिहीबार बहुप्रतिक्षाको विषय रहेको सो भेटवार्ता जुन १२ मा हुन लागेको छ ।

उक्त वार्तामा हुने कुराकानीको विषयमा भने सन्देशमा केही उल्लेख गरिएको छैन । उहाँले विश्वकै चासोको र प्रतिक्षाको उक्त विषयको अन्त्य भएको भन्दै सिंगापुरमा वार्ता हुने ट्वीटरमार्फत जनाउनुभएको छ ।

यसअघि नै यसै वार्ताको बिषयलाई लिएर राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबे, चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग पनि फोनवार्ता गर्नुभएको थियो ।

ती एसियाली नेताहरूको छलफलको बारेमा जापानी प्रधानमन्त्री आवेले अमेरिकी राष्ट्रपतिलाई पनि जानकारी गराउनु भएको समाचारमा जनाइएको थियो । प्रधानमन्त्री आबे र राष्ट्रपति ट्रम्पबीच पनि केही दिनअघि मात्र कुराकानी भएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनबीच गर्ने उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको पनि बताउनुभएको छ । यसका लागि उत्तर कोरियाले आफ्नो थुनामा रहेका अमेरिकी नागरिकलाई पनि बुधबार नै रिहा गरेको छ ।

यसै उच्चस्तरीय भेटवार्ताको तयारीको लागि अमेरिकी विदेशमन्त्रीले उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो । सो भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको थियो ।

उहाँले यी दुई देशका उच्च नेताबीच हुनलागेको आसन्न वार्ताको वातावरण निर्माण भएको बताउनुभएको छ । उहाँ अघोषित रूपमा बुधबार उत्तर कोरिया पुग्दा नागरिकमा वार्ताको लागि आशाको सञ्चार भएको बताइएको थियो ।

सो वार्ताको सफलताको लागि अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला केही दिनयता विभिन्न एसियाली देशका नेताहरुसँग फोनवार्ता जारी राख्नुभएको छ । उहाँले उत्तर कोरियासँग वार्तामा बस्न आफू प्रतिक्षारत रहेको पनि बताउनुभएको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !