२१ बैशाख २०८१, शुक्रबार

किमद्वारा बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुसँग प्रत्यक्ष भेट


KIM

एजेन्सी, १२ वैशाख । उत्तर कोरियाका शाषक किम जोङ उनले आइतबार राति भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुसँग प्रत्यक्ष भेट गरेका छन् । चिनियाँ पर्यटक सवार टुरिस्ट बस उत्तर कोरियाको ह्वान्गे क्षेत्रको एउटा पुलबाट खसेपछि ४ उत्तर कोरियाली नागरिक सहित ३२ चिनियाँले ज्यान गुमाएका थिए ।

तरपनि यसअघि कुनैपनि नकारात्मक खबर सार्वजानिक नगर्ने उत्तर कोरियाको राष्ट्रिय संचार केसिएनएले यस दुर्घटनाबारे भने विशेष खबर प्रशारण गरिरहेको बताइएको छ । यसरी किमले घाइतेहरुसँग भेट गर्नुका साथै उनीहरुको उपचार प्रक्रियाबारे समेत प्रत्यक्ष निरीक्षण गरिरहेका छन् जसलाई सामान्य मान्न नसकिने बताइन्छ । केसिएनले प्रस्तुत गरेको समाचारमा सो दुर्घटनाले किमको मनमा ठूलो चोट पुर्याएकाले मृतकका परिवारसमक्ष उनले समवेदना प्रकट गरिरहेको उल्लेख गरिएको छ । त्यसैगरी किमले यस घटनापछि पहिलोपटक चिनियाँ दूतावासको भ्रमण पनि गरेका हुन् ।

अत्यन्तै नजिकी कूटनीतिक सम्बन्ध राख्दै आएकाले पनि किमले चीनसँग सम्बन्धि घटनामा विषेश रुची देखाइरहेको बताइएको छ । दुर्घटनामा घाइते भएका यात्रुसँग किमले प्रत्यक्ष भेट गरेको तस्बिर समेत उत्तर कोरियाले सार्वजानिक गरिसकेको छ । उत्तर कोरियामा रहेका चिनियाँ राजदूत ली जीनजुनसँग घटनाबारे गम्भीर छलफल गर्दै किमले फेरि पनि पीडित परिवारसमक्ष दुःख व्यक्त गरेको खबर गरिएको हो ।

चीन र उत्तर कोरिया लामो समयदेखिकका मित्रराष्ट्र हुन् भने उत्तर कोरियामा उपलब्ध इन्धन र खाद्य पदार्थमा पनि चीनको सबैभन्दा ठूलो सहयोग रहेको छ । त्यसैगरी उत्तर कोरिया भ्रमणमा आउने पर्यटकहरुमा ८० प्रतिशत भन्दा बढी चिनियाँ हुने गरेका छन् । त्यसकारण पनि चिनियाँहरुमाझ राम्रो छवि कायम गर्नकै लागि किमले त्यसरी अस्पतालसम्म पुगेर घाइतेहरुलाई भेटेको देखिन्छ ।

उत्तर कोरियाले धेरै अगाडीदेखि नै चीनलाई सबैभन्दा महत्वपूर्ण छिमेकी मान्दै आएको छ । त्यसैले राम्रो कूटनीतिक सम्बन्ध कायम गर्ने प्रयासमा किमले आफ्नो पहिलो विदेश भ्रमणमा पनि बेइजिङ पुगेर जिङपिङसँग भेट गरेका थिए । यसअघि किमले देशमा भएका दुर्घटनाप्रति व्यक्तिगत चासो देखाउने गरेका थिएनन् । त्यसैले पनि दुई अति महत्वपूर्ण बैठक अघि मिडियामा राम्रो छवि प्रस्तुत गर्न किम अहिले मिसाइलसँग नभइ बच्चाहरुका साथ खेल्दै गरेको देखा परिरहेको बताइएको छ । (बीबीसी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !