१९ बैशाख २०८१, बुधबार

श्रीलंकामा आपतकालीन स्वास्थ्य अवस्था घोषणा


श्रीलंका

कोलम्बो । श्रीलङ्कामा औषधिको चरम अभावका कारण मङ्गलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ। देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (GMOA) को आपतकालीन कानून लागू गर्ने र औषधिको चरम अभावका बारेमा छलफल गर्न बसेको आपतकालीन सामान्य समितिको बैठकपछि यो निर्णय घोषणा गरिएको डेली मिररले जनाएको छ ।

जीएमओए सेक्रेटरी डा सेनाल फर्नान्डोले आपतकालीन स्वास्थ्य अवस्था घोषणा गर्ने यो निर्णय बिरामीको जीवन रक्षाका लागि लिएको बताएका छन् । बैठकमा जीएमओएले सरकारको कमजोर व्यवस्थापनका कारण मुलुकमा औषधिको चरम अभाव हुने खुलासा गरेको छ ।

श्रीलङ्काको अखबारले वर्तमान आर्थिक सङ्कट जारी रह्यो भने औषधिको अभाव भविष्यमा निकै गम्भीर अवस्थामा पुग्ने बताएको छ । यसअघि सरकारले फागुन १२ गते सार्वजनिक स्वास्थ्य सेवालाई अत्यावश्यक सेवा घोषणा गरेको थियो ।

‘स्वास्थ्य सेवालाई अत्यावश्यक घोषणा गरेपछि सरकारले अत्यावश्यक औषधिको आपूर्ति मुलुकमै पु-याउने व्यवस्था मिलाउनुपर्ने थियो,’ डा फर्नान्डोले भने । त्यसैले आपतकालीन औषधि अभावको पूर्ण जिम्मेवारी सरकार र स्वास्थ्य मन्त्रालयले लिनुपर्ने उनको भनाइ छ ।

शनिबार श्रीलङ्काले देशलाई समातेको आर्थिक सङ्कटसँग जुध्न सरकारको प्रयासप्रति जनताको असन्तुष्टिलाई लिएर कोलम्बोमा व्यापक विरोध प्रदर्शन भएपछि तीन दिन कर्फ्यू लगाएको छ । श्रीलङ्काका राष्ट्रपतिले शुक्रबार “सार्वजनिक सुरक्षा र सार्वजनिक व्यवस्थाको” सुनिश्चितता गर्न देशव्यापी आपतकालको घोषणा गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !