२४ बैशाख २०८१, सोमबार

रुसले दियो युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता, राष्ट्रसंघद्वारा निन्दा


भ्लादिमीर पुटिन

एजेन्सी । रुसले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले हिजो पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको घोषणा गरेका हुन् ।

रुसले विद्रोही समूहको नियन्त्रणमा रहेका दुई युक्रेनी क्षेत्र लुहान्स्क र डोनेस्कलाई ‘स्वतन्त्र राज्य’को मान्यता दिने निर्णय गरेको हो । बीबीसीका अनुसार रुसी राष्ट्रपति पुटिनले सोमबार राति टेलिभिजनमा सम्बोधन गर्दै स्वतन्त्र राज्यको मान्यता दिने आदेशमा हस्ताक्षर गरेको बताएको छ ।

ती दुई क्षेत्रका पृथकतावादी नेताहरूलाई सँगै राखेर पुटिनले उनीहरूलाई स्वतन्त्र राज्यको मान्यता दिने आदेशमा हस्ताक्षर गरेका हुन् । समाचार संस्था रोयटर्सका अनुसार ती क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै पुटिनले रूसी रक्षा मन्त्रालयलाई त्यहाँ शान्ति स्थापना गर्न सैनिक पठाउन निर्देशन दिएको जनाएको छ ।

पुटिनले दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने आफ्नो निर्णयलाई रूसी नागरिकले साथ दिने विश्वास लिएका छन् । उनको यो घोषणासँगै रुस र युक्रेनको सीमा क्षेत्रमा केही हप्तादेखि जारी तनाव झनै चर्किने निश्चित भएको छ ।

रुसको पछिल्लो कदमप्रति संयुक्त राष्ट्रसंघ र युरोपेली संघले पनि आलोचना गरेका छन् भने अमेरिकासहित अन्य पश्चिमा देशहरुले युक्रेनमा रुसी सेना प्रवेश गर्ने आधार तयार भएको भन्दै रुसको आलोचना गरेका छन् ।

युक्रेनमा विकसित भएको पछिल्लो घटनाक्रमलाई लिएर सो विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बस्दैछ । रुस सुरक्षा परिषदको स्थायी राष्ट्र भएको कारण कुनै पनि निर्णयविरुद्ध भिटो प्रयोग गर्न सक्ने अधिकार राख्छ ।

युक्रेनले सो बैठकमा आफ्नो देशको प्रतिनिधि पनि समावेश गर्नुपर्ने माग गरेको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोनमा कुराकानी गरेका छन् ।

उनले पुटिनको कदमपछि टेलिभिजनबाट सम्बोधन गर्दै रुसको कदमले युक्रेनको सम्प्रभूता र क्षेत्रीय अखण्डताको उलंघन भएको बताउदै युक्रेनी नागरिकलाई नडराउन आग्रह गरेका छन् । यता अमेरिकी राष्ट्रपति बाइडेनले डोनेस्क र लुहान्स्क क्षेत्रमा संलग्न केही रूसी अधिकारीहरूमाथि प्रतिबन्धमा हस्ताक्षर समेत गरेका छन् ।

ती दुवै क्षेत्रलाई रुसी समर्थक विद्रोहीहरूको वाहुल्य भएको राज्यको रुपमा चिनिन्छन् । २०१४ देखि नै युक्रेनविरुद्ध लड्दैआएका ती क्षेत्रलाई पुटिनले युक्रेनसँग दुश्मनी बढिरहँदा नयाँ घोषणा गरेका हुन् । यसअघि सन् २०१४ मा पनि रुसले कृष्ण सागरमा अवस्थित क्रिमिया प्रायद्वीपलाई आफ्नो अधीनस्थ ल्याएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !