५ जेष्ठ २०८१, शनिबार

अमेरिकी प्रशासनद्वारा प्यालेस्टाइनसँग सञ्चार सम्पर्क पुनः स्थापना


संयुक्त राज्य अमेरिका

संयुक्त राष्ट्रसङ्घ । संयुक्तराज्य अमेरिकाले प्यालेस्टाइनसँग कूटनीतिक सञ्चार सम्पर्क पुनः स्थापना गर्न लागेको जनाएको छ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीसँगको सञ्चार सम्पर्क विच्छेद गर्नु भएको थियो ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद बैठकमा भिडियो कन्फरेन्सबाट सम्बोधन गर्दै अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले प्यालेस्टाइनसँग अमेरिकाले चाँडै कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्न लागेको बिहीबार जानकारी गराउनु भएको थियो ।

उहाँले जनवरी यतादेखि बाइडेन प्रशासनले दुबै पक्षसँग परामर्श गरी प्यालेस्टाइनमा शान्ति स्थापना गर्न चाहेको जानकारी गराउनु भएको थियो । राजदूत ग्रिनफिल्डले भन्नुभयो, “बाइडेन प्रशासनले अमेरिकी पूर्व प्रशासनले प्यालेस्टाइनसँग अबरुद्ध गरेको कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्न पहल थालिसकेको छ । कूटनीतिक सम्बन्ध स्थापनाको हाम्रो लक्ष एकै छः इजरायल–प्यालेस्टाइन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि मद्दत गर्नु ।”

राजदूत ग्रिनफिल्डले अमेरिकाले इजरायललाई निरन्तर सहयोग गर्ने बताउँदै इजरायल र प्यालेस्टाइन दुबै पक्षले दुई– राज्य समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले इजरायलको भविष्यका लागि यो नै सबैभन्दा राम्रो दृष्टिकोण रहेको अमेरिकी सोचाई रहेको बताउनुभयो ।

राजदूत ग्रिनफिल्डले बाइडेन प्रशासनले प्यालेस्टिनी जनताको विकास र मानवीय सहायताका लागि मद्दत गर्न अमेरिकी सहायता कार्यक्रम पुनः आरम्भ गर्न लागेको पनि बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !