२२ बैशाख २०८१, शनिबार

भारतमा अहिलेसम्म साढे २ करोडले लगाए कोरोनाको खोप


कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोप

नयाँ दिल्ली । भारतमा अहिलेसम्म साढे २ करोड भन्दा बढीले कोरोनाको खोप लगाएका छन् । देशभरी कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान चलिरहे पनि अहिलेसम्म दुई करोड ५६ लाख ९० हजार ५४५ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बिहीबार बेलुका सार्वजनिक गरेको यो विवरण बिहीबार दिउँसो १ बजेसम्मको भएको मन्त्रालयका सचिव राजेश भूषणले जानकारी दिए ।मन्त्रालयले साप्ताहिक रुपमा सार्वजनिक गर्ने गरेको विवरण अनुसार बिहीबार यो विवरण सार्वजनिक गरेको हो ।

खोपका कूल उपभोक्तामध्ये ७१ प्रतिशतले सरकारी सेवामार्फत खोप लगाएका हुन भने अरु २९ प्रतिशतले निजी क्षेत्रबाट खोप लगाएका हुन् । भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनेक्रम चलिरहेको छ ।

स्वास्थ्य सचिव भूषणका अनुसार पुने, नागपुर, थाने, मुम्बई, बेङ्गलोर, एर्नाकुलम, अमरावती, जलगाउँ, नासिक, औरङ्गबाद लगायतका क्षेत्रमा धेरै सङ्क्रमित रहेका छन् । महाराष्ट्र प्रदेशमा मात्रै अहिले पनि एक लाखभन्दा बढी सङ्क्रमित सक्रिय अवस्थामै रहेको पनि उनले जानकारी दिए ।

“धेरै सङ्क्रमित रहेका दश जिल्लामध्ये आठ जिल्ला महाराष्ट्र प्रदेशका मात्रै रहेका छन्,” उनले पत्रकार सम्मेलनमा भने । त्यसैगरी मध्य प्रदेश, गुजरात र हरियाना प्रदेश पनि धेरै सङ्क्रमित भएको प्रदेशमा परेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

भारतमा पछिल्लो २४ घण्टामा थप २२ हजार ८५४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने १२६ सङ्क्रमितको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !