१२ जेष्ठ २०८१, शनिबार

महशुल नतिर्र्नेे ग्राहकको लाइन काटियो


विद्युत् प्रसारण लाइन

दमौली, ७ असार । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले समयमा विद्युत् महशुल नबुझाउने ८५५ ग्राहकको लाइन काटेको छ । वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७५÷६६ को जेठ मसान्तसम्म महशुल बुझाउन अटेर गर्ने ग्राहकको लाइन काटेको हो ।

समयमा विद्युत् महशुल नबुझाउने ग्राहकको लाइन काटेर रु एक करोड ४१ लाख ३७ हजार ३५९ बक्यौता असुल गरिएको केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिनुभयो । उहाँका अनुसार लाइन काटिनेमध्ये ७३७ ले बक्यौता रकम बुझाएका र उनीहरुको लाइन पुनः जोडिएको छ ।

गोशलीले भन्नुभयो, “मिटर रिडिङ भएको ६०औँ दिनभन्दा बढी समयसम्म महशुल नतिर्ने ग्राहकको लाइन दैनिक रुपमा काटिएको छ । लाइन काटेर कारवाही गरिएका ग्राहकले धमाधम बक्यौता रकम बुझाउन थालेका छन् ।” केन्द्रले चालु आवको जेठ मसान्तसम्म अनाधिकृत रुपमा विद्युत् प्रयोग गर्ने १२१ ग्राहकलाई कारवाही गरेको छ । कारवाही स्वरुप रु छ लाख एक हजार ९८५ राजश्व सङ्कलन भएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार मिटर वाईपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने र मिटरको सिल तोड्नेलाई कारवाही गरिएको हो । विद्युत् चुहावट नियन्त्रण कार्यअन्तर्गत बन्द भएका, बिग्रेका मिटर फेर्ने, मिटरको छड्के निरीक्षण गर्ने, मिटर रिसिलिङ गर्ने, ठूला ग्राहकको टिओडी मिटरको खपत युनिट डाउनलोड गरी डाटा एनलाइसिस गर्ने कार्य गरिएको छ भने जेठसम्म ३४१ बन्द तथा बिग्रेका मिटर, एक हजार १४९ ग्राहकको मिटर रिसिलिङ र एक हजार २०० ग्राहकको मिटर छड्के निरीक्षण गरिएको छ ।

केन्द्र प्रमुख गोशलीका अनुसार विद्युत् चुहावट नियन्त्रणमा कडाइ गरिएपछि विद्युत् चुहावट घटेको छ । ट्रान्सफर्मर थप्ने, ट्रान्सफर्मरको क्षमता बढाउने, तार अपग्रेड गर्ने, नयाँ लाइन विस्तार गर्ने, पुरानो नाङ्गो तारलाई नयाँ कालो तारले फेर्ने कार्यले विद्युत् चुहावट घटाउन सहज भएको उहाँले जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !