१४ बैशाख २०८१, शुक्रबार

कोपा अमेरिका, उरुग्वे र जापानबीचको खेल बराबर


foodball

पोर्टो अलेग्री, ६ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत नेपाली समयअनुसार शुक्रबार बिहान सम्पन्न प्रतिस्पर्धामा उरुग्वे र जापानबीचको खेल दुईदुई गोलको बराबरीमा टुंगिएको छ ।

खेलमा जापानका तर्फबाट पहिलो गोल भएको थियो । विश्व फुटबलमा निकै शक्तिशाली मानिएको उरुग्वे विरुद्ध जापानका कोजी मियोशीले २५औं मिनेटमा पहिलो गोल गरेका थिए ।

तर सात मिनेटपछि नै उरुग्वेका फर्वार्ड एडिन्सन काभानीलाई डिबक्सभित्र लडाएका कारण उरुग्वेले एउटा विवादास्पद पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई लुइस सुवारेजले गोलमा परिणत गरेका थिए ।

निकै राम्रो खेल कौशल देखाएको जापानका तर्फबाट ५९औं मिनेटमा फेरि मियोशीले दोस्रो गोल गरेका थिए । दुर्भाग्य, फेरि सात मिनेटभित्रै उरुग्वेले दोस्रो गोल गरी खेल दुईदुईको बराबरीमा ल्याएको थियो । उरुग्वेका लागि दोस्रो गोल जोजे गिमेनेजले गरेका थिए ।

दुबै टिमले गोल गर्ने निकै राम्रा अवसरहरु बनाएका थिए, तर कुनै पनि टिमबाट थप गोल हुन सकेन ।

अंक तालिकामा समूह ग मा उरुग्वे चार अंक सहित सबैभन्दा माथि छ । सोमबार उरुग्वे र चिलीबीच खेल हुनेछ । जापानको अन्तिम खेल इक्वेडरसँग हुनेछ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !