२६ बैशाख २०८१, बुधबार

नेपाली महिलाहरूमा यस्ता प्रकारका यति धेरै छन् यौन रोग


girl

बीबीसी । वीरगन्जकी ४० वर्षीया फुलझरी देवीलाई लामो समयदेखि यौनजन्य रोगका लक्षण देखिएका थिए । उनको योनिबाट गनाउने पानी बग्थ्यो अनि तल्लो पेट पनि निकै दुख्थ्यो । तर लाजका कारण उनी लामो समय उपचार गर्न गइनन्।

उनी भन्छिन्, पेट दुख्थो अनि गनाउने सेतो पानी धेरै बग्थ्यो। मलाई यस्तो समस्या भएको छ भनेर भन्न लाज लागेकै कारण मैले केही महिनासम्म त आफ्नो समस्या कसैलाई बताइनँ । तर पछि डर लाग्यो, मलाई केही भयो भने मेरा सन्तानलाई कसले हेर्छ भनेर ।

त्यसपछि आफ्नो समस्याबारे उनले आफ्नी फुपूलाई भनिन् र उनकै सल्लाहमा चिकित्सकलाई परीक्षण गराइन् । अहिले मैले उपचार सुरु गरेकी छु । बिस्तारै निको हुँदैछ, फुलझरीले भनिन् । यो समस्या उनको मात्र होइन ।

चिकित्सकहरूका अनुसार महिलाहरूमा यस प्रकारका समस्या बढी नै देखिन थालेको छ । यस प्रकारको समस्या लिएर आउने महिलाको सङ्ख्या निकै धेरै छ । चाहे ती ग्रामीण भेगका हुन् वा सहरका, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुजना शर्मा भनिन् ।

महिलाहरूमा कुन सरुवा यौन रोग सबैभन्दा बढी देखिन्छ ?
शर्मा भन्छिन्, सबैभन्दा धेरैमा देखिने समस्या चाहिँ क्लमिडियाको सङ्क्रमण हो । त्यसपछि गोनरिया अनि सिफिलिस (भिरिङ्गी) हो । यी सबै ब्याक्टेरियाबाट हुने सङ्क्रमण हुन् । छुट्टाछुट्टै ब्याक्टेरियाले गराउने भए पनि यी सबै रोगका लक्षण भने उस्तै हुने उनी बताउँछिन् ।

  • लक्षण

योनिबाट गन्हाउने पानी बग्ने, योनिमा घाउ हुने र मुसा पलाउने आदि हुन्छ । चिकित्सकहरूका अनुसार सङ्क्रमण भएको व्यक्तिको तल्लो पेट दुख्छ र केहीलाई ज्वरो पनि आउन सक्छ । तर अझै पनि देशका ग्रामीण र सहरी भेगमै पनि रोग लाग्नुभन्दा पनि त्यसलाई लुकाएर राख्नु अझ डरलाग्दो समस्याको रूपमा रहेको छ । समयमै उपचार गर्न आए यस प्रकारका रोग सजिलै निको हुन्छन् ।

  • समयमै उपचार भएन भने भिरिङ्गी शरीरभरि फैलिन्छ

तर लामो समयसम्म रोग लुकाएर राखियो भने समस्या पर्न सक्ने बताउँछिन् चिकित्सक उमा श्रीवास्तव । यी प्राणघातक रोग होइनन् । चाँडै पत्ता लगाएर समाधान गर्न सक्यो भने यो निको भैहाल्छ । तर जटिल हुँदै गयो भने यसले बच्चा नहुने, बच्चा ठाउँमा नबस्ने हुन्छ र वर्षौँसम्म यस्तो सङ्क्रमण रहिरह्यो भने क्यान्सरसम्म पनि हुन सक्छ ।

  • आखिर महिलाहरू किन यस्तो समस्या लुकाएर बस्छन् ?

महिला स्वास्थ्यबारे कुरा उठाउने अधिकारकर्मी एवम् नर्स राधा पौडेल यसका पछाडि सामाजिक र आर्थिक कारणहरू भएको बताउँछिन् । यसबारे आमा, दिदीबहिनी र साथीहरूसँग पनि हामी सजिलै कुरा गर्न सक्दैनौँ । यस्ता अङ्गहरूलाई सफा राख्नुपर्छ र महिनावारी हुँदा सफा कपडा प्रयोग गर्नुपर्छ भनी कसले सिकाएको छ ? उनी भन्छिन्, उपचार गर्न जान महिलासँग पैसा पनि हुनु पर्‍यो अनि नजिकै स्वास्थ्य संस्था हुँदैनन् । स्वास्थ्य उपचार गर्न जानका लागि घरको कामबाट फुर्सद निकाल्न पनि त सजिलो छैन महिलालाई पुरुषको तुलनामा ।

तर यस्तो रोग लाग्नुका कारण चाहिँ असुरक्षित यौन सम्पर्क, तथा पर्याप्त सरसफाइ गर्न नसक्नु नै रहेको चिकित्सकहरू बताउँछन् । कहिलेकाहीँ गर्भपतन गर्दा प्रयोग भएका औजारबाट सङ्क्रमण भएको समेत भेटिएको उनीहरू बताउँछन् । यस प्रकारका रोगबाट बच्न सुरक्षित यौन सम्पर्क गर्नु सबैभन्दा उचित हुने चिकित्सकहरूको भनाइ छ ।

त्यस्तै यौनाङ्गको सरसफाइमा पनि ध्यान दिनुपर्ने उनीहरू सुझाव दिन्छन् । स्वास्थ्यचौकी लगायतका धेरै स्थानमा सेवा दिन बसेका व्यक्ति पुरुष हुने भएका कारण पनि त्यहाँ गुप्ताङ्गमा देखापरेको समस्या लिएर जान महिलाहरू धक मान्ने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !