२६ बैशाख २०८१, बुधबार

चन्द्रागिरिमा एक हजार २८२ घर पुनर्निर्माण


Nepalpatra

काठमाडौँ, ९ जेठ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वले धनी चन्द्रागिरि नगरपालिकामा एक हजार २८२ घर पुनर्निर्माण भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति भएका पाँच हजार ७८५ घरमध्ये एक हजार २८२ घर पुनर्निर्माण सम्पन्न भएको हो ।

नगरपालिकाका उपप्रमुख लिसा नकर्मीले भूकम्पले क्षति पु¥याएका पाँच हजार ७८५ घरमध्ये चार हजार ७६२ घर पुनर्निर्माणका लागि नगरपालिकाले अनुदान सम्झौता गरेको बताउनुभयो । बाँकी घरले पनि चाँडै नै अनुदान सम्झौता गर्ने उहाँको भनाइ छ । जसमध्ये चार हजार ७६२ घरले पहिलो किस्ता, एक हजार ३८० घरले दोस्रो किस्ता र एक हजार २८२ घरले पुनर्निर्माण सम्पन्न गरेर अन्तिम किस्तासमेत लिइसकेका छन् ।

नगरपालिकाले सरकारले तोकेको रकमअनुुसार पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु एक लाख ५० हजार र घर पुनर्निर्माण भएपछि तेस्रो किस्ताबापत रु एक लाख प्रदान गर्दै आएको छ । काठमाडौँको दक्षिण पश्चिम भेगमा रहेको उक्त नगरपालिकामा चन्द्रागिरि, दहचोक, इन्द्रदह, काजी कालु पाण्डे समाधिस्थल, मातातीर्थलगायतका धार्मिक तथा ऐतिहासिक स्थलहरु रहेका छन् । चन्द्रागिरि नगरपालिका काठमाडौँ उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । यहाँ १५ वडा रहेका छन् ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले भूकम्पपीडितको निवेदनका आधारमा नगरपालिकाले पुनर्निर्माणका लागि रकम वितरण गर्दै आएको जानकारी दिनुभयो । “घरको क्षतिका आधारमा विभिन्न वडाबाट आएको सिफारिशका आधारमा रकम प्रदान गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !