१४ बैशाख २०८१, शुक्रबार

धार्मिक मेलाको आयव्यय सार्वजनिक


Nepalpatra

३० फागुन, परासी । पश्चिम नवलपरासीस्थित मदारबाबामा लागेको धार्मिक मेलाको आयव्यय सार्वजनिक भएको छ । मुस्लिम र हिन्दू धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा परिचित नेपालको पुरानो धार्मिकस्थल मदारबाबामा गत फागुन १२ देखि २० गतेसम्म धार्मिक मेला सञ्चालन भएको थियो ।

यहाँ प्रत्येक वर्ष मेला लाग्दै आएको छ । यस वर्षको मेलामा सात लाख बढीले अवलोकन गरेको मेला आयोजक संस्थाले जनाएको छ । यसवर्ष सञ्चालन भएको मेलामा कूल रु २७ लाख ५० हजार भेटी सङ्कलन भएको मेला आयोजक कुतबुल मदार शाह दरगाहा सुस्ता–२ महलबारीले जनाएको छ । यो आम्दानी गत वर्षको भन्दा कम हो ।

समितिका अध्यक्ष निजामुद्दिन मियाँका अनुसार मेलाबाट रु पाँच लाख २५ हजार ९९५ बचत भएको छ । समितिले मेलाको व्यवस्थापन, खाना, खाजा, सरसफाइ, बिजुली, पानीको व्यवस्था, रङरोगन, आर्थिक सहयोग, औषधि उपचार, यातायात, अतिथि सत्कारलगायतमा गरी रु २२ लाख २४ हजार ५५ खर्च गरेको छ ।

मेलाबाट बचत भएको रकम निर्माणाधीन गद्दीघरमा खर्च गर्ने समितिले निर्णय गरेको अध्यक्ष मियाँले जानकारी दिनुभयो । गत वर्षको मेलाबाट रु २९ लाख ९१ हजार ८९२ आम्दानी भएको थियो । गद्दीघर पुरानो भएपछि गत वर्षको मेलाबाट बचत भएको रु आठ लाख ५० हजार पनि समितिले उक्त भवनमै खर्च गरेको बताएको छ । मेलामा भक्तजनले चढाएको भेटी पादरर्शी नहुने गरेको आरोप लागिरहेका बेला पछिल्लो वर्षमा समितिले मेलाको आयव्यय सार्वजनिक गर्न थालेको हो । विशेषगरी मुस्लिम समुदायको धार्मिकस्थल मानिने पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ महलबारीमा अवस्थित मदारबाबा हिन्दू र बौद्ध धर्मावलम्बीको पनि आस्थाको केन्द्र हो ।

सदरमुकाम परासीबाट २७ किलोमिटर पूर्व तथा पूर्वपश्चिम राजमार्गको बर्दघाटदेखि २१ किलोमिटर पूर्वमा रहेको मदारथानमा आउने ७५ प्रतिशत तीर्थालु भने भारतबाट आउने गरेका छन् । मदारबाबाले लामो समय तपस्या गरेको मदरीडाँडामा भक्तजनको विशेष भीड लाग्ने गर्दछ । मदारबाबा मेलाले धार्मिक सहिष्णुता कायम गर्न सहयोग पु¥याएको स्थानीयवासी बताउँछन् । मदारबाबाले तपस्या गरेको यो स्थान धार्मिक सद्भावका निम्ति अत्यन्तै उदाहरणीय क्षेत्र हो ।

बाह्र सय वर्षअघि हिजरी संवत् २४२ मा सिरियामा जन्मिएका मदारबाबाको देहान्त हिजरी संवत् ८३८ मा भारतको कानपुरमा भएको थियो । उनी मुस्लिम समुदायका धर्मगुरु हुन् । मदारबाबाले थुप्रै मुलुकसहित नेपालको नवलपरासी र बुटवलस्थित फुलबारीपार्क क्षेत्रमा समेत तपस्या गरेको इतिहास रहेको मदारबाबाका मठाधीश अमिरुल्लाह अन्सारी बताउनुहुन्छ ।

यहाँ भाकल गर्नाले सन्तान नहुनेले सन्तान प्राप्त गर्छन् भन्ने पनि ठूलो विश्वास रहेको छ । मदारथान (मदारबाबाको समाधिस्थल) पुग्न सुस्ता–२ महलबारीबाट करीब तीनदेखि चार घण्टाको पहाड चढेर जानुपर्दछ । “यो नेपालकै सबैभन्दा पुरानो र धेरै स्वदेशी तथा विदेशी भक्तजनले अवलोकन गर्ने स्थल हो, मदारमा पुग्न लामो समय र अप्ठ्यारो बाटो तय गर्नुपर्ने अवस्था छ, तर पहाडको उक्त बाटो अहिलेसम्म व्यवस्थित हुनसकेको छैन”, समितिका संरक्षक बुद्धन अलीले भन्नुभयो ।

लाखाँै हिन्दू र मुस्लिम समुदायको साझा आस्थाको केन्द्र बनेको मदारबाबालाई उचित संरक्षण, प्रवद्र्धन र विकासका लागि स्थानीयस्तरबाट लागिरहेको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे बताउनुहुन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !