४ जेष्ठ २०८१, शुक्रबार

पर्यटन गुरुयोजनाका लागि एकजुट


Nepalpatra

२७ फागुन, बलेवा । पर्यटन गुरुयोजनाका लागि जिल्लाका सरोकारवाला एकजुट भएका छन् । बागलुङ पर्यटन विकास समितिको आयोजनामा आइतबार भएको भेलामा सबै स्थानीय तह, जनप्रतिनिधि, सांसद, व्यवसायी र बुद्धिजीवी एकजुट भएका हुन् ।

सबै स्थानीय तहले बनाएको पर्यटन कार्यक्रम तथा योजना, र सम्भाव्यता, सङ्घ, प्रदेश र स्थानीय सरकारको बजेटबाट गर्न सकिने कामलाई एकीकृत गरेर गुरुयोजना बनाउन एकजुट भएको समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । जिल्लास्तरीय पर्यटन गुरुयोजना निर्माणका लागि यहाँका १० गन्तव्य छनोट भएका छन् । सङ्घ र प्रदेश सरकारले घोषणा गरेका मुख्य पर्यटकीय क्षेत्र जोडेर गुरुयोजनाको काम गरिने बताइएको छ ।
ती क्षेत्रमा लगानी, पूर्वाधार र पहुँच विस्तार गर्ने गरी कार्यक्रम बनाउन गण्डकी प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री विकास लम्सालले आग्रह गर्नुभएको छ ।

गुरुयोजनाले दीर्घकालीन सोचसहित सबै क्षेत्र समावेश गर्न लागेको खड्काले बताउनुभयो । दशवटै तह, जिल्ला समन्वय समिति र गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालसहित जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै सांसदसमेतले ती स्थानको प्राथमिकीकरण गराएका छन् ।

सबै क्षेत्रलाई पदमार्ग, सडकमार्ग र शिक्षा तथा स्वास्थ्यको पहुँचबाट जोड्ने योजना बनाइएको खड्काले दाबी गर्नुभयो । “पदमार्ग सूचीकृतका लागि सरकार र पर्यटन बोर्डमा पुग्छौँ”, खड्काले भन्नुभयो, “त्यसअघि स्थानीय लगानीको मापदण्ड, प्रदेश र सङ्घीय सरकारबाट पाउन सकिने आर्थिक र प्राविधिक सहयोगको मूल्याङ्कन भइरहेको छ ।” मन्त्री लम्सालले उचित योजना बनाउने जिम्मा स्थानीय तह र जिल्लामा छाडिएको बताउनुभयो । सहमतिमा बनेर आएका योजनामा प्रदेश सरकार लगानी गर्न तयार रहेका बताइएको छ ।

सक्दो सहयोग गरेर बागलुङमा पर्यटन विकास गर्न सरकार आतुर रहेको लम्सालको भनाइ थियो । सन् २०१९ लाई गण्डकीले आन्तरिक भ्रमण वर्ष घोषणा गरिसकेकाले यो वर्ष जिल्लाले पनि कार्यक्रम बनाउनुपर्ने सुझाव आएको छ । गण्डकी प्रदेशले आगामी सन् २०२२ मा यो प्रदेशमा २० लाख पर्यटक भित्र्याउन पहल गरिरहेको छ।

कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, दशवटै तहका प्रमुख, विशेषज्ञको रुपमा डा प्रेम शर्मा र डा सुदर्शन सिलवालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जिल्लाभित्रका पर्यटकीय क्षेत्र मात्र नभई धर्म, संस्कृति, गीत, नृत्यसमेत पर्यटन प्रवद्र्धनको आधार भएको उहाँहरुले कार्यपत्रमा समावेश गर्नुभएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !