१४ जेष्ठ २०८१, सोमबार

टहरा नहट्दा ‘सर्भिस ट्र्याक’ निर्माण अवरुद्ध


koteshwor_kalanki

२१ फागुन, काठमाडौँ । सडक छेउमा रहेका टहरा हटाउन नसक्दा कलङ्की–कोटेश्वर सडकको विभिन्न स्थानमा ‘सर्भिस ट्र्याक’ बन्न सकेको छैन । सहायक सडक हुँदै मुख्य सडकमा प्रवेश गर्नका लागि बनाइएको ‘सर्भिस ट्र्याक’ बन्न नसक्दा चक्रपथ छिर्न कठीन भएको चालक बताउँछन् ।

महालक्ष्मीस्थान, धोबीघाट, बालकुमारी, ग्वार्काेलगायतका स्थानमा सडक मापदण्डभित्रै रहेका टहरा हट्न नसकेको चक्रपथ सुधार योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । उहाँका अनुसार यी स्थानमा ठूला घर नभएपनि काठ, बाँसलगायतका निर्माण सामग्री राख्नका लागि बनाइएका टहरा यथावत् रहेका छन् ।

पटक÷पटक यी टहरा हटाउनका लागि भनिएपनि नहट्दा काममा बाधा पुगेको योजनाले बताएको छ । उहाँले भन्नुभयो, “हामीले लिखित र मौखिक दुबै रुपमा टहरा हटाउन भनिरहेपनि उनीहरुले बेवास्ता गर्दै आएका छन् ।”

नेपाल सरकारले गर्ने भनिएको भित्री दुई लेनको सडकमा झण्डै ७० प्रतिशत काम भइसकेको उहाँले बताउनुभयो । अर्यालले भन्नुभयो, “टहरा हट्नासाथ बाँकी ३० प्रतिशत अघि बढ्नेछ ।” स्थानीय तहले यहाँका घरटहरा हटाउनका लागि सहयोग नगरेको योजनाले बताउँदै आएको छ ।

संरक्षित वन्यजन्तु जरायोको सिङसहित पक्राउ

महानगरीय प्रहरी परिसर ललितपुरले संरक्षित वन्यजन्तु जरायोको सिङसहित ललितपुर महानगरपालिका–९ भोल्ढोका बस्दै आएका गोकुल विश्वकर्मालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

विश्वकर्माको डेराकोठाबाट लुकाएर राखेको अवस्थामा संरक्षित वन्यजन्तु जरायोको सिङ जस्तो देखिने ठूलो वस्तु आठ वटा र सानो सिङ जस्तो देखिने दुई वटा, पित्तलजडित शङ्ख एक वटा, बीचमा प्वाल रहेको गोलाकार सिक्का पैसा पाँच वटा बरामद भएको परिसरले जनाएको छ ।

गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो । परिसर र महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको संयुक्त टोलीले कानूनअनुसार खोजतलासी गरेको उहाँले बताउनुभयो । विश्वकर्मालाई आवश्यक अनुसन्धान र कारवाहीका लागि जिल्ला वन कार्यालय पठाइएको परिसरले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !