११ जेष्ठ २०८१, शुक्रबार

विकास भनेकै बाटो


Nepalpatra

१७ फागुन, नारायणपुर । दाङकै विकट गाउँपालिका बंगलाचुली २ टाकुराका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तुहरु बजारबाट बोकेरै ल्याउनुपथ्र्यो । गाउँका बिरामीलाई समेत बोकेर ल्याउने लैजाने गर्नुपर्ने समस्याबाट पीडित थिए टाकुरावासी । तर, स्थानीय सरकार गठन भएपछि पहिलो प्राथमिकता सडक निर्माणले पायो ।

अहिले टाकुरा गाउँमा पहिलो पटक गाडी पुगेको छ । घोराही स्यूजा सडक खण्डको पुरुङछेडाबाट करीब पाँच किलोमिटर सडक बनाई टाकुरा गाउँको जेमुरेसम्म सडक पुगेको गाउँपालिकाका सदस्य भीमकुमार बुढाले जानकारी दिनुभयो । गाडी पुगेपछि अब त्यहाँका नागरिकलाई घोराही आउन जान, गाउँमा उत्पादित वस्तु बिक्रीका लागि बोकेर बजार ल्याउनुपर्ने बाध्यता हटेको छ । “घोराहीेका नजीकै भए पनि अहिलेसम्म गाउँमा गाडी आएको थिएन,” उहाँले भन्नुभयो – “तर अहिले स्थानीय सरकार आएपछि गाउँमा बस आयो, खुशीले गद्गद् छौं ।”

जिल्लाका सबै स्थानीय सरकारहरुले विकासको पहिलो आधार सडक सञ्जाल बनाएपछि अहिले गाउँगाउँमा सडक पु¥याउने काम भैरहेको छ । दाङको राजपुर गाउँपालिकामा अहिलेसम्म कालोपत्रे सडक छैन । दाङकै सबैभन्दा ठूलो र विकट राजपुरले जग्रवादेखि खंग्रानाका १९ किलोमिटर र सुनपत्रीदेखि सुनपत्रीनाका २१ किलोमिटर सडकको ट्र्याक खोलिसकेको छ । भारतसँग जोडिएका २३ वटा नाकाहरु छन् जसलाई नेपालसँग प्रत्यक्ष रुपमा जोड्नै पर्ने गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताउनुभयो ।

“समग्र बजेटमध्ये ५५ प्रतिशत पूर्वाधारमा छुट्याइएको छ, त्यसमध्ये पनि २० प्रतिशत बजेट नाकासँग जोड्ने सडकका लागि छुट्याइएको छ,” अध्यक्ष केसीले भन्नुभयो – “अन्य बजेट गाउँपालिकाको विभिन्न स्थानमा सडक निर्माण, स्तरोन्नतिका लागि खर्च हुनेछ ।”

यता, बंगलाचुली गाउँपालिकामा पनि अझै कालोपत्रे सडक बनेको छैन । धुले सडकले काम चलेको छ । सिङ्गो गाउँपालिकामा २० वटा भन्दा बढी गाउँबस्तीमा अझै मोटरबाटो पुगेको छैन । “बाटो नहुँदै अन्य विकास पु¥याउन समस्या हुने रहेछ, विकासको आधार नै सडक रहेछ भन्ने हामीले महशुस गरेका छौँ,” बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले भन्नुभयो ।

दाङको तुलसीपुर उपमहानगरपालिका १३ फुलबारी र लमही नगरपालिका ९ लार्इं जोड्ने सडक निर्माणको काम पनि शुरु भएको छ । यो वर्ष १२ किलोमिटर खनिएको सडकको पूर्व पश्चिम राजमार्गसँग जोड्न पाँच किलोमिटर बाँकी छ । तुलसीपुर–अमेलिया र घोराही–लमही सडक बनेपछि त्यो सडक गोरेटोमा परिणत भएको थियो । तर अब यो सडक राजमार्गमा पुग्ने सबैभन्दा छोटो हुने सडक हुनेछ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत दाङ क्षेत्र नं ३ का सांसद हीराचन्द केसीबाट सडकका लागि २५ लाख बजेट विनियोजन भएको थियो । त्यो रकममार्फत फुलबारीको कुट्टीबाट ट्र्याक खोल्ने काम भएको स्थानीयवासी मोहन पौडेलले बताउनुभयो ।

“प्रदेश र केन्द्र सरकारसँग बाँकी भागको ट््याक खोल्न पहल गरिरहेको छु,” सांसद केसीले भन्नुभयो – “संभवत यो वर्षमा रार्जमार्ग जोड्ने काम हुनेछ ।” सडक निर्माण हुन थालेपछि त्यस क्षेत्रका स्थानीयवासी खुशी भएका छन् । “यो सडकले धेरैलाई प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ,” जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले भन्नुभयो – “बाँकी भागको ट्र्याक खोल्न हामीले पनि सरकारसँग समन्वय गर्ने छौं ।”

उपमहानगरमै छैन सडक सञ्जाल
एक–दुई वटा वडा क्षेत्रबाहेक प्रायः गाउँवस्तीले बनेको घोराही र तुलसीपुर उपमहानगरपालिकामा अझै मोटरबाटो नपुगेका धेरै क्षेत्रहरु छन् । बजार क्षेत्र बाहेक ग्रामीण भेगमा कहीँ कतै मात्र कालोपत्रे सडक छ । त्यस बाहेक धेरैजसो गाउँ धुले सडकमा रमाइरहेका छन् ।

तुलसीपुरको वडा नंं ४ को खुमखानी, वडा नं १९ को छिल्लीकोट माथिको गाउँका साथै वडा नं १ र १३ मा पर्ने पहाडी गाउँमा अझै जनताको पहुँच पुग्ने गरी सडक सञ्जाल नपुगेको इन्जिनीयर पवन योगीले बताउनुभयो । यता, घोराही उपमहानगरपालिकाको वडा नंं ५ को रज्जामन्नामे, वडा नंं. १९ का केही वस्ती, वडा नं १ को सुकाखोलादेखि चाक्लीघाटसहितका केही गाउँमा अझै सडक पुगेको छैन ।

तुलसीपुर उपमहानगरपालिकाको कार्यालयका अनुसार अहिले १२० किलोमिटर सडक कालोपत्र भएको छ भने करीव ८०० किलोमिटर धुले सडक छ । तुलसीपुर उपमहानगरपालिकाले पनि रु १२ करोड बजेट सडक निर्माण तथा विस्तारकै लागि छुट्याएको छ । “सडकको निर्माण कहिले पनि रोकिने विषय हैन, धुलेबाट ग्राभेल, कालोपत्रे हुँदै सुविधासम्पन्न सडक बनाउने क्रम चलिरहन्छ,” इन्जिनीयर योगीले भन्नुभयो ।

घोराही उपमहानगरपालिकाले प्रत्येक वडामा रु. ६० लाखको दरले बजेट छुट्याएको छ । उन्नाइस वटा वडाका लागि रु एक करोड १४ लाखको बजेट विशुद्ध सडकका लागि हो भने उपमहानगरपालिकाको साढे छ करोडको बजेट छुट्टै छ । “सडकको स्तर हेरेर पनि विकास र समृद्धिको मापन हुने रहेछ, विकासको पहिलो मापदण्ड सडक भएकाले पनि अहिले स्थानीय सरकारहरु सडकमा बढी लगानी गर्न खोजिरहेका छन्,” घोराही उपमहानगरपालिकाका इन्जिनीयर रामधन श्रेष्ठले भन्नुभयो – “सडकको कार्य देखिने काम पनि हो ।”

प्रदेशको प्राथमिकतामा दाङका सडक

दाङ उपत्यकाको प्रवेशद्वार कुहिरेपानीदेखि सिधा सर्रा जोड्ने बाइपास सडक निर्माणका लागि प्रदेश सरकारले दश करोड रुपैयाँ बजेट छुट्याएको छ । सडकको स्तरोन्नति गर्दै कालोपत्र गर्न चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले दश करोड बजेट छु्ट्याउँदै कुहिरेपानी सर्रा सडक खण्डलाई आफ्नो मातहतमा ल्याएको हो ।

प्रदेश सरकारले यो सडकलाई विशेष प्राथमिकतामा पारेको प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले बताउनुभयो । लामो समयदेखि सामान्य ट्र्याक खोलिएको अवस्थामा रहेको यो सडकको स्तरोन्नति गर्दै कालोपत्र गर्न गत आर्थिक वर्षदेखि नै काम थालिएको हो । गत आर्थिक वर्षमा यो सडकमा ९३ लाख रुपैयाँ खर्च गरिएको थियो । अठार मिटर चौडा बनाइएको यो सडकको ट्र्याक खोल्ने काम सकिएको छ भने यो आर्थिक वर्षमा कालोपत्र गर्ने काम हुनेछ ।

यो सडकलाई हालको कुहिरेपानी–गोग्ली–घोराही सडक खण्डको बाइपास सडक तथा वैकल्पिक सडकको रुपमा हेरिएको छ । यसको लम्बाइ ८ किलोमिटर मात्रै रहेको घोराही उपमहानगरपालिकाका इन्जिनियर श्रेष्ठले बताउनुभयो । घोराही उपमहानगरपालिकाको वडा नं ३, १६ र १७ लाई छोएको यो सडकले घोराही क्षेत्रमा हुने सवारी आवागमनलाई खुकुलो पार्न, सवारी दुर्घटना न्यून गर्न पनि सहयोग पु¥याउने विश्वास गरिएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्राथमिकतामा पारेको अर्को सडक हो गरगरियादेखि उरहरी हुँदै सुकौरा जोड्ने सडक । यो सडकको स्तरोन्नतिका लागि पाँच करोड रुपैयाँ बजेट छुट््याइएको प्रदेशका मुख्यमन्त्री पोख्रेलले बताउनुभयो । यी बाहेक प्रदेश सरकारले ४ वटा दाङका सडकलाई प्राथमिकतामा पारेको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले दाङका अन्य चार वटा सडकको स्तरोन्नति गर्न दुई करोडका दरले बजेट विनियोजन गरेको छ ।

दुधरास सक्राम हुँदै छिल्लीकोट सडकलाई कालोपत्र गर्ने, बिजौरीदेखि हाडिमे हुँदै छिल्लीकोट सडकलाई कालोपत्र गर्ने, घोराही मसिनादेखि मरपेश पाखापानी हुँदै उर्जा मन्दिर र त्यसलाई स्वर्गद्वारी जोड्ने सडक र मज्गै अवल डाँडादेखि हापुर खोलाको करिडोर मार्गलाई पनि प्रदेश सरकारले आफ्नो योजनामा राखेको छ ।
(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !