२० बैशाख २०८१, बिहिबार

नदी नियन्त्रणको काम शुरु


Nepalpatra

१२ फागुन, बेनी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारलाई म्याग्दी नदीको कटानबाट बचाउन नदी नियन्त्रणको काम शुरु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिका र सङ्घीय सरकारबाट विनियोजन भएको रु ३३ लाख बजेटबाट बजार संरक्षणको लागि पक्की पर्खाल निर्माण शुरु गरिएको हो ।

दरबाङमा नदी कटान रोक्न गाउँपालिकाले रु आठ लाख बजेट विनियोजन गरेको थियो भने प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापामार्फत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत रु २५ लाख बजेट विनियोजन भएको थियो ।

सङ्घीय सरकारसँगको साझेदारी कार्यक्रमको रूपमा उपभोक्ता समितिमार्फत नदी नियन्त्रणको काम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो । जनप्रिय माध्यमिक विद्यालयको पुरानो खेलकूद मैदानको छेउबाट बजारतर्फ कटान रोक्न पर्खाल निर्माण भइरहेको छ । यो वर्ष ४० मिटर पक्की पर्खाल निर्माण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो ।

योजनामा स्थानीय उपभोक्ताले समेत श्रमदान गर्ने र योजनालाई गुणस्तरीय बनाउन नियमित अनुगमन गरिने गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो । सो योजनामा अर्थुङ्गेस्थित श्रीबक्स गुल्मका गुल्मपति राजन दाहालको नेतृत्वमा १५ सैनिक जवानले एक दिन श्रमदान गरेको उपाध्यक्ष बिटालुले बताउनुभयो ।

वर्षातको समयमा नदीको धार बजारतर्फ सोझिन थालेपछि गत वर्षदेखि दरबाङमा नदी नियन्त्रणको काम शुरु भएको थियो । गतवर्ष गाउँपालिकामार्फत विनियोजन भएको रु १८ लाख बजेटबाट पक्की पर्खाल निर्माण शुरु गरिएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !