१८ बैशाख २०८१, मंगलबार

जडीबुटी खेतीबाट राम्रो आम्दानी गर्दै महिला


Nepalpatra

१० फागुन, परासी । पश्चिम नवलपरासीको बर्दघाट–२ स्थित चिसापानी सामुदायिक वनले जडीबुटी उद्योग स्थापना गरी प्रशोधित सुगन्धित तेल उत्पादन गर्न थालेपछि यहाँका महिला जडीबुटी खेतीतर्फ आकर्षित भएका छन् ।

यसले जुडीबुटी खेतीको विस्तार भएको छ भने महिलाको आयआर्जनको राम्रो माध्यम पनि बनेको छ । सुगन्धित तेल ‘कस्मेटिक’ तथा अन्य जडीबुटीजन्य वस्तुमा प्रयोग हुने गरेको छ ।

चिसापानी सामुदायिक वनअन्तर्गत स्थापना भएको चिसापानी सामुदायिक जडीबुटी प्रशोधन उद्योगले कच्चा तेल उत्पादन गरी विदेश पठाउने गरेको छ । उद्योगले सुगन्धित तेल उत्पादन गरी विदेश पठाउने गर्दा जडीबुटीको माग बढ्दै जान थालेपछि यहाँका महिला जडीबुटी खेतीतर्फ आकर्षित भएका हुन् ।

जङ्गलमा खाली रहेको जग्गामा व्यावसायिकरूपमा जडीबुटी खेती गरेर २६५ महिलाले आयआर्जन गरी रोजगारी पाइरहेको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष होमबहादुर गुरुङ बताउनुहुन्छ । “हाम्रोसहित जिल्लाका अन्य छ सामुदायिक वनमा महिलाले समूह बनाएर जुडीबुटी खेती गरिरहेका छन्, लेमनग्रास, तामारोजर, मिटानेला, मेन्था, पचौली, जटामसीलगायतको प्रशोधन हुने भएकाले महिलाले त्यही खेती गरेर राम्रो आम्दानी गरिरहेका छन्”, उहाँले भन्नुभयो ।

अध्यक्ष गुरुङका अनुसार चिसापानी सामुदायिक वनमा १५, पारिजात सामुदायिक वन बर्दघाटमा २२, दाउन्नेदेवी सामुदायिक वनमा ३३, सीतापोखरी सामुदायिक वनमा ६५, संसारकोट हरियाली सामुदायिक वनमा २७ र जनउदय सामुदायिक वन सुनवलमा २५ महिलाले समूहमा जडीबुटी खेती गरिरहेका छन् ।

एकपटक लगाएपछि पाँच वर्षसम्म त्यसबाट उत्पादन लिन पाइने भएकाले अधिकांश महिलाले भने बहुवर्षे लेमनग्रासको खेती गरेका छन् । जडीबुटी खेतीबाट मासिक १८ हजारको दरले महिलाले आम्दानी गरिरहेको लालिगुराँस जडीबुटी कृषक समूहले जनाएको छ । यो समूहले जटामसीको खेती गरिरहेको छ ।

उत्पादन भएपछि व्यापारी आएर किन्ने र तत्कालै नगद पाइने भएकाले महिलालाई रोजगारीसमेत मिलेको छ । चिसापानी सामुदायिक वनमा उद्योग स्थापना भए पनि सुगन्धित तेलको उत्पादन गरी निकासी गर्ने काम भने दोलखाको हिमालय वायो टे«ड लिमिटेड र काठमाडौँको एभरेष्ट एरोमा प्रालिले गर्दै आएको छ ।

विसं २०६८ मा स्थापना गरिएको उक्त उद्योगको सुगन्धित तेल बुटवलस्थित ह्वील डिर्टजेन्ट पाउडर उद्योगले पनि लैजाने गरेको छ । उत्पादित कच्चा तेल किन्न व्यापारी उद्योगमै आउने गरेका छन् । उद्योगमा सामुदायिक वनको रु १६ लाख लागतको आफ्नै एउटा भेसल र चौैधरी वाइसिज, डब्लुसिएनको सहयोगमा पाएको रु २२ लाख लागतको आधुनिक मोबाइल भेसलबाट तेल उत्पादन हुने गरेको छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपरासीका अध्यक्ष कमल परियारका अनुसार उक्त उद्योगबाट वार्षिक डेढ क्विन्टल बढी कच्चा तेल उत्पादन हुने गरेको छ । “बजार पनि राम्रो रहेको, जङ्गलमा खेर गइरहेको जडीबुटीको उपयोग भएको, महिलाले रोजगारी पाएकोे तथा अनावश्यक समयको सदुपयोग भएकाले यस किसिमका उद्योगलाई थप प्रवद्र्धन गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय फिलिपिन्सबाट पनि यहाँको माग आइरहेको सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ । कच्चा वस्तुका रूपमा निकासी भइरहेकाले प्रशोधन गरी तयारी वस्तुको रूपमा निकासी गर्न सके अधिकतम लाभ लिन सकिने यस क्षेत्रका सरोकारवालाको भनाइ छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !