२६ बैशाख २०८१, बुधबार

लोकतन्त्रकलीले छावा जन्मायो


Nepalpatra

१० फागुन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालीम केन्द्रमा रहेको लोकतन्त्रकलीले हिजो बिहीबार छावा जन्माएको छ । बिहान ४ः१५ बजे १२ वर्षकी कलीले छावा जन्माएको निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष निकुञ्जमा लोकतन्त्रकलीसहित पाँच माउ हात्तीले छावा जन्माएका छन् ।

गत वर्ष निकुञ्जका हात्तीले छावा जन्माएका थिएनन् । हात्तीको प्रजननलाई ठूलो उपलब्धिको रूपमा लिइन्छ । यससँगै निकुञ्जमा चार भाले र एक पोथी छावा भएका छन् । यसअघि असोज २३ गते पूजाकलीबाट पोथी छावा, कात्तिक १६ गते गणेशकलीबाट भाले छावा, मङ्सिर ३ गते तमरकलीबाट भाले छावा र पुष १४ गते कणालीकलीबाट भाले छावा जन्मिएका थिए । अझै तीन गर्भिणी हात्तीले अर्को बर्ष बच्चा जन्माउने पाण्डेले जानकारी दिनुभयो ।

हाल निकुञ्जमा ५७ हात्ती छन् । गर्भिणी भएपछि २२ देखि २४ महीनामा हात्तीले बच्चा जन्माउँछ । कोशीटप्पु राष्ट्रिय निकुञ्जबाट ल्याइएका पाँच हात्ती पनि चितवन राष्ट्रिय निकुञ्जमा छन् । निकुञ्जको हात्ती प्रजनन एवं तालीम केन्द्र, सौराहा र कसराको हात्तीसार एवं पोष्टमा हात्ती राखिँदै आइएको छ । विसं २०४२ मा भारत सरकारले दिएको १६ हात्ती ल्याएर शुरु गरिएको प्रजनन केन्द्रमा हालसम्म २९ हात्तीका बच्चा जन्मिसकेका छन् ।

दुर्घटनामा एकको मृत्यु

भरतपुर महानगरपालिका–१ रामनगरको पानीट्याङ्की ओरालोमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जनाकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २८ वर्षीय विपीन गुरुङ रहेका छन् ।

रामनगरबाट भरतपुरतर्फ आउँदै गरेको ना४७प २७७५ नंको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु हुने मोटरसाइकलमा पछाडि सवार रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल र मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !