२२ बैशाख २०८१, शनिबार

धर्मशालाको अस्तित्व हराउँदै


Nepalpatra

१८ माघ, डडेल्धुरा । डडेल्धुराका विभिन्न स्थानमा बटुवाले तराई, पहाड आवजावत गर्दा बाटोमा बास बस्नका लागि निर्माण गरिएका धर्मशाला ९पाटी पौवा)को अस्तित्व मेटिँदै गइरहेको छ । पछिल्लो समयमा सडक विस्तारसँगै पैदल मार्गबाट आवतजावत बन्द भएपछि धर्मशाला जीर्ण बन्दै गएका हुन् । कतिपय स्थानमा रहेका धर्मशालाहरु नष्ट भइसकेका छन् ।

कुनै समयमा डडेल्धुराका विभिन्न स्थानसँगै राजमार्ग छेउछाउमा देखिँदै आएका धर्मशाला अहिले हराउँदै गएका छन् । मानिसको फेरिँदो जनजीवनसँगै हराउँदै गएका धर्मशाला अस्तित्वसमेत खतरामा परेको धर्मशालाको इतिहाससमेत मेटिने खतरा बढेको ज्ञन्यापुधार–१ का अध्यक्ष चेतराम भट्टले बताउनुभयो ।

डडेल्धुरा–बैतडी राजमार्गमै भने थुप्रै धर्मशाला थिए अहिले केही जीर्ण अवस्थामा रहेको देख्न सकिने अध्यक्ष भट्टले बताउनुभयो । बागबजारको पुरानो वाणिज्य बैंक अगाडि एउटा धर्मशाला अन्तिम पटकसम्म पनि थियो । तर अहिले नामोनिशानसमेत मेटिएको छ ।

“कीर्तिपुर बजार क्षेत्रको छेउमा पनि रहेको एउटा धर्मशालाको अस्तित्व लोप भएको छ । पोखरा बजार आइपुग्नुअगावै पनि धर्मशाला रहेको छ”, स्थानीय गगन भण्डारीले भन्नुभयो । तर हाल आएर धर्मशाला प्रयोगमा नआउँदा धेरै हराएका र केही अतिक्रमणको चपेटामा परेका स्थानीय बताउँछन् । ती धर्मशाला कसले बनाए त्यसको केही दस्तावेज नरहेको जिल्ला समन्वय समितिका संयोजक गणेशराज भट्टले बताउनुभयो । प्राचीन धरोहर र मान्यतालाई जीवन्त राख्न लेखाजोखा गर्नुपर्ने सयोजक भट्टको भनाइ छ ।

पछिल्लो समयमा बढ्दो शहरीकरण र सडक निर्माणका कारण धर्मशालाको प्रयोगमा कमी आएका कारण नै अस्तित्व सकिएको जानकार बताउँछन् । सडक मार्गमा ठाउँठाउँमा वस्ती र बजार बस्न थालेपछि पनि मानिसहरु धर्मशालामा नबसी होटलमा बस्न थालेका छन् ।

खासगरी १० वर्षे सशस्त्र द्वन्द्वकालीन समयदेखि धर्मशालाको प्रयोगमा कमी आएको देखिन्छ । तराई, पहाड गर्दा बाटोमा बटुवालाई राति बास बस्नका लागि ढुङ्गाले मात्रै निर्माण गरिएका कलात्मक धर्मशाला जिल्लाका विभिन्न स्थानमा रहेका भए पनि पछिल्लो समयमा हराउँदै गएका पर्शुराम नगरपालिकाका समाजसेवी कैलाश पाण्डेयले बताउनुभयो ।

धर्मशालाको निर्माण कुनै सार्वजनिक जग्गा वा गुठी क्षेत्रमा भएको देखिन्छ । तत्कालीन शासकभन्दा पनि धार्मिक व्यक्तित्वबाट धर्मशाला बन्ने गरेको बुढापाकाको भनाइ छ । त्यतिबेला सामाजिक सेवा भाव र आफन्तको स्मरणमा धर्मशालाहरु निर्माण भएका थिए । त्यो समयमा पैदल मार्गमा आवासका लागि कुनै व्यावसायिक होटल र बास बस्ने घर नहुँदा धार्मिक आस्था बोकेका मानिस बटुवाका लागि धर्मशाला निर्माण गर्ने जानकारको भनाइ छ ।

गाडी र सडकबाटोको सुविधा नहुँदा सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रबाट तराई क्षेत्रमा पैदल जाने मानिस धर्मशालाको प्रयोग गर्ने गरेको स्मरण भागेश्वरका गणेशराज भट्टले बताउनुभयो ।

यस समुदायका मानिस मङ्सिरको अन्त्यतिरदेखि उच्च पहाडी क्षेत्रलाई छोड्दै पहाडी क्षेत्रमा भेडासँगै झर्ने बेला धर्मशालाको प्रयोग गर्ने गन्यापधुरा गाउँपालिका अध्यक्ष नवल मल्लले बताउनुभयो । गन्यापधुराको ताललेकमा रहेको धर्मशालाको प्रयोग पछिल्लो समयमा गोठालो जाने र भेडाबाख्रा चराउन आउने मानिसले प्रयोग गरी रहेका गाउँपालिका अध्यक्ष मल्लले जनाउनुभयो ।

यसरी भोट र पहाडको सम्बन्धलाई आतिथ्य सत्कारमा जोड्ने धर्मघर प्रयोगविहीन हुँदै विलिन हुँदै गइरहेका छन् । विभिन्न स्थानमा भएका धर्मशालालाई संरक्षण मात्र गर्ने हो भने पुरातात्विक धरोहरका रुपमा जगेर्ना गरी पर्यटकीय आकर्षणको केन्द्र्र र सङ्ग्रहालय बनाउन सकिने स्थानीय बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !