११ जेष्ठ २०८१, शुक्रबार

तारुका प्रहरीचौकी पुनःस्थापना


police

१६ माघ, विदुर । सशस्त्र द्वन्द्वका समयमा आक्रमणमा परी ध्वस्त नुवाकोट जिल्लाको तारुका प्रहरीचौकीको स्थानीय जनताको सहयोग र पहलकदमीमा अत्याधुनिक भवन निर्माण भएको छ । विसं २०५८ असार २२ मा तत्कालीन नेकपा (माओवादी) को आक्रमणमा परी १० प्रहरीको मृत्यु भएको थियो । पूर्ण रुपमा ध्वस्त उक्त चौकी स्थानीय जनताको दुई रोपनी जग्गा दानसहित सरकारको र एक करोड ६६ लाखमा निर्माण गरिएको हो । दशवर्षे द्वन्द्वका समयमा देशभर भएका प्रहरीचौकी आक्रमणमध्ये तारुका चौकी पनि ठूलो क्षति व्यहोरेको चर्चित घटनामध्ये एक थियो ।

तारकेश्वर गाउँपालिकास्थित तारुका प्रहरीचौकीको उद्घाटन ३ न प्रदेशका प्रहरी प्रमुख दीपक थापाले मङ्गलबार गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्न नागरिक पनि बर्दीविनाको प्रहरीका रुपमा सधैँ जागा भएर उभिनुपर्ने बताउनुभयो ।

गाउँमै आधुनिक र व्यवस्थित प्रहरी चौकी स्थापना भएपछि तारकेश्वरवासीमा खुशीयाली छाएको छ । चौकी निर्माणका लागि दुई रोपनी क्षेत्रफलभन्दा बढी जग्गा दान गर्ने स्थानीय समाजसेवी उत्तरकुमार अधिकारीलाई प्रशंसापत्र प्रदान गरियो भने भवन निर्माण गर्ने जिम्मा पाएका निर्माण व्यवसायी थापा कन्ट्रक्सनका रामचन्द्र अधिकारीलाई सम्मान गरिएको थियो ।

शान्ति सुरक्षा र सुव्यवस्थाका लागि नागरिकमा प्रहरी सुरक्षा पहुँच स्थापना गर्न जनशक्ति र पूर्वाधार नै मुख्य आवश्यकता भएकाले ग्रामीण भेगमा प्रहरीचौकी निर्माणले सहजता थपिएको नुवाकोटका प्रहरी प्रमुख कृष्ण पल्ली मगरले बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्ती, नेपाली सेना सैन्य तालीम केन्द्र मैथलीका खेमराज शर्मा, प्रहरी चौकी तारुकाका प्रमुख प्रहरी नायब निरीक्षक कुल र कुँवरलगायतले भवन निर्माण र पूर्वाधारको व्यवस्थाले सरकारको जनतालाई न्याय, शान्ति र सुरक्षा दिने प्रयासमा सफलता मिल्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

विसं २०४२ मा तारुकाको माथिल्लो भेग जोरचौतारामा स्थापित उक्त प्रहरीचौकी जनआन्दोलनपछि शान्ति प्रक्रियामा मुलुक प्रवेश गरेसँगै २०६५ सालमा तारुकाबेंसीमा घर भाडामा लिएर हालसम्म सञ्चालन हुँदै आएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शान्ति प्रक्रियामा आएपछि विस्थापित भएका र ध्वस्त हुन पुगेका सबैजसो भौतिक संरचना तथा भवन पुनःनिर्माण भइसके पनि २०७२ वैशाखको भूकम्पका कारण पुनः भत्किएपछि पुनःनिर्माण भइसकेका छन् ।

हाल प्रहरीचौकी २० स्थानमा रही शान्तिसुरक्षाका कार्यमा क्रियाशील रहेको नुवाकोट प्रहरी प्रमुख मगरले जानकारी दिनुभयो । उहाँका अनुसार हाल नुवाकोटमा क श्रेणीका तीन र ख श्रेणीका दुई इलाका प्रहरी कार्यालय छन् भने १५ प्रहरीचौकी छन् जसमा एक नगर प्रहरीचौकी र तीन अस्थायी प्रहरीचौकी सञ्चालनमा छन् । तीमध्ये अझै पनि चार प्रहरीचौकी सीमित स्रोतसाधन, जनशक्ति र भाडाका घरमा रहेर ग्रामीण क्षेत्रमा शान्तिसुरक्षामा खटिन बाध्य छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !