१३ जेष्ठ २०८१, आइतबार

हिमपातबाट यातायात सेवा प्रभावित


manang

१३ माघ, जुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्लालगायत कालीकोट, मुगु, डोल्पा र हुम्लामा लगातारको हिमपातले हवाई तथा स्थलमार्ग यातायात सेवा प्रभावित भएको छ ।
मौसममा आएको परिर्वतनले गत आइबारदेखि नियमित हिमपातले हवाई तथा स्थलमार्ग यातायात सेवा प्रभावित भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माका अनुसार मौसम अनुकूलता नभएका कारण नियमित हवाई सेवा प्रभावित भएको छ ।

कर्णाली यातायात प्रालि जुम्लाका मीनबहादुर थापाले नियमित हिमपातका कारण कर्णाली राजमार्ग प्रभावित भएको बताउनुभयो । एकसातादेखि कर्णाली राजमार्गमा नियमित रूपमा सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् ।

जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक माधव रावतका अनुसार हिमपातले कर्णाली राजमार्ग प्रभावित छ । “नियमित हिमपात भइरहेको छ, सम्भावित दुर्घटनाबाट जोगिनका लागि सवारीसधान जाँचमा कडाइ गरिएको छ”, उहाँले भन्नुभयो । एक सातादेखि दुवै मार्ग प्रभावित भएपछि जिल्ला बाहिर जाने मानिसहरु समस्यामा रहेका स्थानीयवासी सिंहमान विकले बताउनुभयो । उपचार हुन नसकेका बिरामी पनि प्रभावित भएको उहाँको भनाइ छ ।

एक प्रहरीबाट ७१२ नागरिकको सुरक्षा

जुम्लामा एक प्रहरीले ७१२ नागरिकलाई शान्ति सुरक्षा दिने दिनुपर्ने बाध्यता रहेको छ । यहाँ ३०५ को दरबन्दी भए पनि २२० मात्र प्रहरीको सङ्ख्या रहेको छ । जिल्लामा ८५ प्रहरीको दरबन्दी रिक्त रहेको प्रहरी नायब निरीक्षक सीताराम रिजालले बताउनुभयो ।

उहाँले दरबन्दी अनुसारका प्रहरी जवान नहुँदा शान्ति सुरक्षामा खटनपटनमा चुनौती रहेको बताउनुभयो । हिउँदको समयमा अत्यधिक चिसो हुने भएकाले थप समस्या सामना गर्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिउँसोको समयमा समस्या नभए पनि रातको समयमा भने सुरक्षामा कठिनाइ हुने गरेको प्रहरी निरीक्षक प्रकाशकुमार केसीले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !