२५ बैशाख २०८१, मंगलबार

सडक स्तरोन्नति शुरु


Nepalpatra

१३ माघ, म्याग्दी । म्याग्दीको पर्यटकीय स्थल टोड्के जोड्ने सडक स्तरोन्नति शुरु भएको छ ।

मङ्गला गाउँपालिकाले सिमदेखि कोत्रवाङ, खुम्ल्याह, पैयुँपाटा, कुहूँ, पूर्णगाउँ हुँदै समुन्द्रि सतहदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित टोड्के जोड्ने सडक स्तरोन्नतिको काम शुरु गरेको हो ।

सिमदेखि अधेरीखोला र अधेरीखोलादेखि टोड्के दुई खण्डमा सडक फराकिलो बनाउने, ग्रेड मिलाउने, घुम्ती तथा मोड सुधार गर्न लागिएको सिम कोत्रवाङ खुम्ल्याह पैयुपाटा कुहूँ पूर्ण टोड्के सडक उपभोक्ता समितिका अध्यक्ष एकजित रोकाले जानकारी दिनुभयो ।

स्थानीयवासी, तत्कालीन गाविस र जिविसले २०६७ सालमा सिमदेखि टोड्के जोड्ने सडकको ट्रयाक खोलेका थिए । हाल तीनदेखि साढे तीन मिटर चौडाइ रहेको सडक विस्तार गरेर कम्तीमा सात मिटर फराकिलो बनाउन लागिएको अध्यक्ष रोकाले बताउनुभयो ।

पहिलो चरणमा एक्साभेटर परिचालन गरेर फराकिलो बनाउने काम भइरहेको छ । सडक फराकिलो बनाएपछि उपभोक्ता र मजदुर परिचालन गरेर ग्याबियन, सुख्खा र मेसिनरी पर्खाल निर्माण गरिने उपभोक्ता समितिका सचिव देबबहादुर क्षेत्रीले बताउनुभयो ।

मङ्गला गाउँपालिकाले सिमदेखि अधेरीखोलासम्मका लागि रु ३५ लाख र अधेरीखोलादेखि टोड्केसम्मका लागि रु १५ लाख बिनियोजन गरिएको छ । उपभोक्ताको १५ प्रतिशत जनसहभागितामा सडक स्तरोन्नति गर्न लागिएको हो ।

यो सडक स्तरोन्नति भएमा स्थानीयवासीलाई सुविधाका साथै टोड्केको पर्यटन विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सडक स्तरोन्नति गरेर बाह्रै महिना सहज रुपमा सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाउन लागिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

तोराखोत भरजुला हिदी, पखेर बरंजा, सातबिरे बरंजा, पुलचोक अर्मनलगायत गाउँपालिकाका अन्य सडकलाई पनि स्तरोन्नति गर्न लागिएको अध्यक्ष रोकाले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !