२१ बैशाख २०८१, शुक्रबार

घुम्ती शिविरमा तीन सयलाई नागरिकता


Citizenship

९ माघ, मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिकामा सोमबारदेखि शुरु भएको एकीकृत घुम्ती शिविरमा २९० ले नागरिकता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालयको आयोजना तथा फाकफोकथुम गाउँपालिकाको सहयोगमा आयोजित दुई दिने शिविरमा २९० ले नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालयका नासु लक्ष्मण पाण्डेले बताउनुभयो ।

त्यस्तैगरी २५० जनाले तस्वीरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्लास्थित सात वटा कार्यालयले सेवा प्रवाह गरेका थिए । शिविरमा कृषि ज्ञान केन्द्र इलामबाट माटोको नमूना परीक्षण गरिएको थियो । फाकफोकथुम–१, ३ र ६ का ८२ जना कृषकको माटोको नमूना परीक्षण गरिएको छ ।

नेपाल टेलिकमबाट ४१ लाई सहुलियतमा मोबाइलको सिमकार्ड वितरण गरिएको छ । आयुर्वेद औषधालयले करीब २०० बिरामीलाई आयुर्वेदिक औषधि वितरण गरेको छ । करदाता कार्यालय, डिभिजन वन कार्यालयले सर्वसाधारणलाई परामर्श सेवा उपलब्ध गराएका थिए ।

गाउँपालिका भएपछि पहिलोपटक घुम्ती शिविर आयोजना भएकाले सेवाग्राहीको चाप बढेको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो । उहाँले गाउँपालिकाले सबै सेवा एकै ठाउँमा दिएर गाउँवासीका लागि ठूलो राहत पु¥याएको विचार राख्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि स्थानीयस्तरमै जिल्लाबाट प्राप्त हुने सेवा प्रवाह गरिने बताउनुभयो ।

सिँचाइ कुलोको निर्माण

इलामको फाकफोकथुम गाउँपालिका वडा नं ६ र ७ एकतप्पामा गाउँपालिकाभरिकै ठूलो सिँचाइ कुलो निर्माणाधीन अवस्थामा रहेको छ । आगामी एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ कुलो धमाधम निर्माण भइरहेको छ ।

दुई वटा वडाको करीब एक हजार ५०० रोपनी खेतीयोग्य जग्गा सिञ्चित हुने भएपछि यस क्षेत्रका कृषक उत्साहित बनेका छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय इलामको रु तीन करोड ४४ लाखको लागतमा १२.१ किलोमिटर पक्की कुलो निर्माण गरिरहेको हो ।

विगतमै यो कुलो निर्माण हुनुपर्ने ढिलै भए पनि पक्की कुलो बनेपछि कृषकलाई आकाशे पानीको भर नपर्नुपर्ने भएको छ, उपभोक्ता समितिका सचिव रामजी श्रेष्ठले भन्नुभयो, “यो कुलोले हाङ्मासुली र एकतप्पाका धेरै कृषकलाई राहत पुग्छ ।”

देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकाबीचमा पर्ने ह्वेङ्मा खोलाको पानी सोझै पक्की कुलोमार्फत कृषकको खेतसम्म ल्याउन लागिएको हो । डिभिजन कार्यालयका अनुसार तीन हजार ६०० मिटर पक्की बनाउनुपर्नेछ । त्यसमध्ये करीब दुई हजार ३०० मिटर निर्माण भइसकेको छ । बाँकी एक हजार ७०० मिटर पनि दुई महीनाभित्र सम्पन्न गरी चार किलोमिटरमा दुई महीनाभित्र पानी चलाउने योजना रहेको डिभिजन कार्यालय इलामका इञ्जिनीयर दिनेशकुमार घिमिरेले बताउनुभयो ।

त्यसबाहेक साढे नौ किलोमिटर कच्ची कुलो निर्माण गरेर यसै आर्थिक वर्षदेखि कृषकको खेतबारीमा पानी पु¥याउने लक्ष्य रहेकोसमेत उहाँ बताउनुहुन्छ । कुलोको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इञ्जिनीयर दिनेशकुमार घिमिरेसहितको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा काम सन्तोषजनक रूपमै अघि बढिरहेको इ घिमिरेले बताउनुभयो ।

बर्खा तथा हिउँदयाममा समेत खेतीबाली लगाउन आकाशे पानीको भर पर्नुपर्ने यहाँका कृषकले कुलो निर्माण भएपछि राहतको महसुस अनुभूति गर्ने उपभोक्ता समितिका सचिव कोइरालाको भनाइ छ । यस कुलोमा दैनिक ५० भन्दा बढी मजदूरले निर्माणको काम गरिरहेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !