१२ जेष्ठ २०८१, शनिबार

कनकाइ उवासङ्घमा लोकतान्त्रिक समावेशी समूह विजयी


Nepalpatra

१३ पुस, बनियानी । झापाको कनकाइ उद्योग वाणिज्य सङ्घमा लोकतान्त्रिक समावेशी समूहका उम्मेदवार विजयी भएका छन् ।

आज बिहान सार्वजनिक गरिएको मत परिणामअनुसार सङ्घको सबै पदमा लोकतान्त्रिक समावेशी समूहका उम्मेद्वार विजयी भएका हुन् । सङ्घको १६ वटा पदमा बिहीबार निर्वाचन भएको थियो ।

सङ्घको आगामी तीनवर्षे कार्यकालका लागि समावेशी समूहका त्रिलोचन चिमरिया ६१३ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनुभएको छ । संयुक्त प्यानलका तर्फबाट अध्यक्षका प्रत्याशी मिनाल तिम्सिनाले ४११ मत प्राप्त गर्नुभएको निर्वाचत अधिकृत प्रकाश चुँडालले जानकारी दिनुभयो ।

वाणिज्य उपाध्यक्षमा अर्जुन बोहोरा, उद्योग उपाध्यक्षमा पुण्यप्रसाद सिटौला विजयी हुनुभएको छ भने महासचिवमा तुलसी विमली विजयी हुनुभएको छ ।

सङ्घको वाणिज्य सचिवमा डम्बरप्रसाद प्रसाईं ,उद्योग सचिवमा राजकुमार साह, कोषाध्यक्षमा भरतकुमार अधिकारी विजयी हुनुभएको छ ।

लोकतान्त्रिक समावेशी समूहका दीपक खतिवडा, माधव पोखरेल, झलक सिटौला, सञ्जय गजुरेल गङ्गाराम, भरत सापकोटा, सन्तोष प्रसाईं, भूमा गौतम, शान्तादेवी अधिकारी र तारामाया राई सदस्यमा विजयी हुनुभएको छ ।

कूल १३८५ मतदाता रहेको सङ्घमा १२६१ मत खसेको निर्वाचन अधिकृत चुँडालले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !