४ जेष्ठ २०८१, शुक्रबार

सुन्तलाबाट नाफा कमाउन भण्डारण गृह


सुन्तला खेती

११ पुस, गलकोट । यहाँका कृषकले सुन्तला बेमौसममा बिक्री गर्नका लागि भण्डारण गृह निर्माण गरेका छन् ।

बागलुङ नगरपालिका–८ सिगानाका टोपबहादुर खड्काले आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरी उत्पादन गरेको सुन्तला भण्डारण गृहमा राखेर चैत– वैशाखमा महङ्गोमा बिक्री गर्दै आउनुभएको छ । तत्कालीन कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाअन्र्तगतको व्यावसायिक सुन्तला उत्पादन सङ्कलन तथा भण्डारण उपआयोजना कार्यक्रमले प्रदान गरेको रु १० लाख अनुदानमा उहाँले भण्डारण गृह निर्माण गर्नु भएको हो ।

“अहिले सुन्तालाको बजार मूल्य प्रतिकिलो रु ६० पर्छ, दुई महीनापछि प्रतिकिलो रु १५० को दरले बिक्री गछौँ,” उहाँले भन्नुभयो । भण्डारण गृहमा १० टनसम्म सुन्तला भण्डारण गर्न सकिन्छ । सुन्तलाको गुणस्तरका आधारमा छुट्टाछुट्टै राख्न मिल्छ । “बेमौसममा सुन्तलाको माग अत्यधिक हुन्छ, त्यसैले भण्डारण गृह निर्माण गरेको हुँ,” खड्काले भन्नुभयो । माटो, बालुवा र गिटीबाट निर्माण गरिएको भण्डारण गृहमा चार महीनासम्म सुन्तला भण्डारण गर्न सकिन्छ ।

सुन्तला भण्डारणका लागि भण्डारण गृह निर्माण गर्ने लहरै चलेको छ । बिऊका पशुपति कँडेल, भुकण्डेका सोमबहादुर थापा, रेशका चित्रबहादुर कार्की, दमेकका मणिभद्र सापकोटालगायतले भण्डारण गृह निर्माण गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले बागलुङको काठेखोला गाउँपालिकाको बिऊ र बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डेलाई सुन्तला जोनमा समावेश गरेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !