२० बैशाख २०८१, बिहिबार

लैङ्गिक हिंसा नियन्त्रण गर्न सञ्जाल गठन


न्याय

११ पुस, तेह्रथुम । लैङ्गिक हिंसा नियन्त्रण र सचेतीकरणका लागि तेह्रथुममा जिल्लास्तरीय सञ्जाल गठन भएको छ ।

लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन कार्यविधि–२०७५ बमोजिम जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा जिल्लास्तरीय महिला हिंसा नियन्त्रण सञ्जाल गठन भएको हो ।

सञ्जालले जिल्लामा लैङ्गिक हिंसाबाट पीडित महिलालाई न्याय प्राप्तिको निमित्त सुरक्षाको अनुभूति, सल्लाह, सूचना र मनोवैज्ञानिक हौसला प्रदान गरी आत्मविश्वास जगाउन, महिला तथा बालबालिका अधिकारको क्षेत्रमा काम गर्नेछ । सञ्जालमा जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्र सदस्य सचिव रहेका छन् ।

यस्तै सञ्जालमा लैङ्गिक हिंसाको क्षेत्रमा कार्यरत सङ्घसंस्था, नागरिक समाज, सञ्चार क्षेत्र, शिक्षा क्षेत्र र मानवअधिकार क्षेत्रका प्रतिनिधि सदस्य रहेका छन् । यस्तै जिल्ला बार एशोसिएशन, उद्योगी, व्यवसायी, बालकल्याण समिति, महिला अधिकारको क्षेत्रमा क्रियाशील सङ्घसंस्था, बाल क्लब र सामुदायिक प्रहरी सेवा केन्द्र सदस्य रहेका छन् ।

सञ्जालको मासिक कम्तीमा एक पटक बैठक बसी लैङ्गिक हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्यविधिबमोजिम काम गर्ने सञ्जालका संयोजक प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो ।

आँखा शिविरबाट ४१० ले सेवा लिए

आँखा रोगीलाई लक्षित गरी तेह्रथुमको छथर गाउँपालिकामा आयोजित निःशुल्क आँखा शिविरबाट ४१० ले सेवा लिएका छन् । शिविरबाट २१२ महिला र १९८ पुरुष आँखा रोगीले लाभ लिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी तेह्रथुम र आँखा उपचार केन्द्र तेह्रथुमको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा आइतबार, सोमबार र मङ्गलबार सञ्चालित शिविरमा ४४ को आँखाको शल्यक्रिया भएको छ । त्यसमध्ये ३६ को मोतियाबिन्दुको शल्यक्रिया गरिएको र बाँकी आठ जनाको आँखामा मासु पलाएकाको शल्यक्रिया भएको आँखा उपचार केन्द्र तेह्रथुमका देवेन्द्र शाहले बताउनुभयो ।

शिविरमा आँखा अस्पताल विराटनगरका डाक्टर मनिष पाण्डे नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखा जाँच, परामर्श, औषधि वितरण, चस्मा वितरण तथा शल्यक्रिया गरेको थियो । गाउँपालिका क्षेत्रमा अधिकांशको आँखामा मोतियाबिन्दुको समस्या देखिएको चिकित्सकले जनाएका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !