२० बैशाख २०८१, बिहिबार

तरकारी खेतीबाट घर खर्च जुटाउँदै महिला


कृषि

१० पुस, भीमदत्तनगर । कञ्चनपुर भीमदत्तनगरपालिका–३ विचपुरीका सिसाली चौधरी कुनै बेला घरको काम र खेतीपातीको समयमा बिताउनुहुन्थ्यो ।

गाउँमा दातृ निकायबाट तरकारी खेतीसम्बन्धी तालिम पाएपछि अन्न खेती छाडेर व्यावसायिक तरकारी खेतीमा समय खर्चिनुभएकी चौधरी हरेक दिन बिहान भीमदत्तनगर बजारमा टोकरीमा तरकारी बेच्नुहुन्छ ।

“बेलुकीतर्फ तरकारी खेतमा गएर गोडमेल र स्यहारामा बिताउँछु ।” चौधरीले भन्नुभयो, “चार किलोमिटर हिँडेर दैनिक तरकारी बेच्न जान्छु ।” छ वर्षदेखि तरकारी उत्पादन तथा बिक्रीमा लागि रहनुभएकी चौधरीले पछिल्लो समय तरकारी खपतको समस्या रहेको बताउनुभयो । “तरकारी बेचेर घर र बच्चाको पढाइ खर्च जुटाएको छु ।” उहाँले भन्नुभयो, “गाउँमा हरेक घरमा चौधरी समुदायले तरकारी खेती गर्दैछन् ।”

उहाँले तरकारी खेतीमा महिला आर्कषण बढिरहेको बताउँदै तरकारी कृषकलाई सरकारले दिने अनुदान तथा सहुलियत नपाएको गुनासो पोख्नुभयो । “अन्य क्षेत्रका किसानले सम्बन्धित कार्यालयबाट तरकारीको बीउबिजनदेखि मलसम्मको अनुदान पाएको सुन्छौँ ।” उहाँले भन्नुभयो, “हाम्रो गाउँमा त अनुदानका नाममा केही पनि दिएको छैन ।”

गाउँमा ३५ महिलाले विगत केही वर्षयता तरकारी खेतीमा जुटिरहेको उहाँले जानकारी दिनुभयो । “अन्नबालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि यहाँ प्रायले तरकारी लगाउन थालेका छन् ।” चौधरीले भन्नुभयो, “बजारका गल्लीगल्लीमा ताजा तरकारी हरेक दिन बिहान पु¥याएका छौँ ।”

जैविक र ताजा तरकारी उपभोक्ताको घर आँगनमै पु¥याउँदासमेत तरकारीको उचित मूल्य नपाएको किसानको भनाइ छ । विचपुरमा महिलाले हाल काउली, मुला, गोलभेँडा, हरियो खुर्सानी, भन्टा, आलुलगायतका तरकारी फलाएका छन् । त्यसैगरी गाउँकै जैसरा चौधरीले गाउँमा छाडा पशुका कारण तरकारी खेतीमा समस्या भइरहेको बताउनुभयो । “रातभरि छाडा गोरुले तरकारी खाएर सखाफ पार्दैछन् ।” उहाँले भन्नुभयो, “तरकारी बचाउन रातभरि जागाराम बस्नुपर्ने अवस्था छ ।” तरकारी बिक्रीबाट दैनिक रु ९०० देखि एक हजार २०० सम्म कमाइ हुने गरेको उहाँको भनाइ छ ।

पाँच कट्ठा जमीनमा तरकारी गरिरहनुभएकी चौधरीले तरकारी उत्पादन गर्ने महिलाले कहीँबाट प्रोत्साहन नभएको बताउनुभयो । “गत वर्ष भन्टा बेचेर मात्रै रु ६० हजार आम्दानी गरेँ ।” उहाँले भन्नुभयो, “तरकारीको कमाइले धेरै नभए पनि घर खर्च चलेको छ ।”कञ्चनपुरका ग्रामीण भेगमा पछिल्लो समय तरकारी उत्पादन गर्ने किसानको सङ्ख्या बढ्दै गइरहेको छ । जसका कारण भारतीय तरकारीको आयात यहाँ घट्दै गइरहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !