२६ बैशाख २०८१, बुधबार

एघार वर्षदेखि रक्तचन्दनको पहरेदारी


jhapa

९ पुस, भद्रपुर । लिलामीको कानूनी प्रक्रिया सहज नहुँदा जिल्ला डिभिजन वन कार्यालय झापाको दुई कोठामा रक्तचन्दन काठ ताल्चा लगाएर राखिएको एघार वर्ष बितिसकेको छ ।

बेचबिखन गर्न प्रतिबन्ध लगाइएको सो काठ २०६३ र २०६४ सालमा भारतबाट तस्करी भएर नेपाल भित्रँदा बरामद गरिएको थियो । उक्त रक्तचन्दन १९ हजार ८३२ किलोग्राम रहेको र प्रचलित मूल्यअनुसार करीब रु डेढ करोड रहेको वन कार्यालयले जनाएको छ । वन कार्यालयको तल्लो तलाको साबिक मुद्दा र प्रशासन फाँट रहेको कोठामा सिलबन्दी गरी ताल्चा लगाएर राखिएको सो रक्तचन्दन सुरक्षाका लागि दुई जना कर्मचारी छुट्टै खटाइएको सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले बताउनुभयो ।

बहुमूल्य काठ भएकाले सुरक्षाका लागि दुई जना कर्मचारी निरन्तर खटाउन र दुई कोठा नै ११ वर्षदेखि सिलबन्दी गरेर राख्नु पर्दा वन कार्यालयले रक्तचन्दनका कारण लामो समयदेखि अतिरिक्त सकस भोग्नु परिरहेको छ । रक्तचन्दनको कानूनबमोजिम बेचबिखन, लिलाम र फिर्ता गर्न नसकेर डिभिजन कार्यालयमै थन्किएको सहायक वन अधिकृत उपे्रतीले बताउनुभयो । उहाँका अनुसार वन तथा वातावरण मन्त्रालयमा पटकपटक पत्राचार गरे पनि मन्त्रालयले रक्तचन्दन थन्क्याउने विषयमा हालसम्म कुनै निर्देशन दिन सकेको छैन ।

रक्तचन्दन थन्क्याइएको कोठामा पुराना विभिन्न मुद्दाका फाइल थुनिएका छन् । सिलबन्दी खोल्न नमिल्ने भएका कारण भित्रका फाइल हेर्न नपाउँदा ११ वर्षअघिका कतिपय मुद्दा फछ्र्यौट गर्न कठिनाइ भएको बताइएको छ । कार्यालयले सिलबन्दी कोठाको ताला खोलेर भित्रको सरसामान हेर्ने गरेको छैन । उक्त चन्दन कुन अवस्था छ भन्ने यकिनसाथ भन्न गाह्रो रहेको छ ।

कार्यालयको रेकर्डअनुसार कोठाभित्र राखिएको सो रक्तचन्दनको ११ वर्षअघि सरकारले तोकेको मूल्य प्रतिकेजी रु २५ रहेको थियो । तर अहिले सो काठको मूल्य बढेर प्रतिकेजी रु ८०० पुगिसेकेको छ । प्रहरीसहित वन कार्यालयको टोलीले झापाको तत्कालीन टाघनडुब्बा गाविसको विभिन्न वडाबाट २०६३ पुस २ गते ६ हजार ३७५ केजी, २०६४ साउन १२ गते एक हजार ६८७ केजी र २०६४ साल साउन १३ गते ११ हजार ७७० केजी रक्तचन्दन बरामद गरेको थियो ।

सो काठ तस्करीमा संलग्न भएको आरोपमा जिल्ला अदालतमा मुद्दा चलाइएका ६ जना अभियुक्त कैद भुक्तान गरी रिहा भइसकेका छन् । तस्करीमा प्रयोग भएको ट्रकसमेत लिलाम भइसकेको छ । तर अन्तर्राष्ट्रिय कानूनबमोजिम समेत संरक्षित वन पैदावरको सूचीमा रहेका कारण बरामद रक्तचन्दनलाई सरकारले लिलाम प्रक्रियाबाट बिक्री गर्ने निर्णय गर्न सकेको छैन । एक दशकअघि भारतबाट भित्र्याइएको रक्तचन्दन काठ चीनतर्फ लुकीछिपी ओसारपसार गर्ने धन्धा फस्टाएको थियो ।

सरकारले कडाइका साथ चन्दनको तस्करी धन्धा रोकेपछि बरामद भएका त्यस्ता काठको मात्रा देशभर अझ धेरै रहेको छ । कानूनी प्रक्रिया मिलाएर लिलाममा लैजाने नसकिने भए अरू कुन प्रक्रिया उपयुक्त हुने हो सोही बमोजिम यसको टुङ्गो लगाउनुपर्ने देखिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !