९ जेष्ठ २०८१, बुधबार

सबै स्थानीय तहमा बैंकिङ सुविधा


bank

६ पुस, बैतडी । बैतडीका सबै स्थानीय तहमा बंैंकिङ सुविधा पुगेको छ । सरकारले देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने लक्ष्य अनुसार बैतडीमा पनि बैंकिङ सुविधा पुर्याएको हो ।

जिल्लाको सबैभन्दा विकट सिगास गाउँपालिकामा कृषि विकास बैंक, शिवनाथ गाउँपालिकामा नेपाल एसबिआई बैंक, पञ्चेश्वर गाउँपालिकामा नबिल बैंक, पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका ग्लोबल आइएमई बैंक, डिलाशैनीमा कुमारी बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टीमेन्ट बैंक र मेलौलीमा एनसिसी बैंकका शाखा स्थापना भइसकेका छन् ।

शिवनाथ गाउँपालिकामा केही दिन अगाडि मात्रै नेपाल एसबिआई बैंकको शाखा स्थापना भएको भए पनि खाता खोल्ने काम मात्रै भइरहेको गाउँपालिकाका प्रवक्ता हजारी साउदले जानकारी दिनुभयो । खाता खोल्ने बाहेकका अन्य सेवा सुविधा केही दिनभित्रै सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा वाणिज्य बैंक लगायतका अन्य बैंकका शाखा रहेका छन्, भने पाटन नगरपालिकाका कृषि विकास बैंक लगायतका शाखा छन् । सरकारले २०७४ साउनमै देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने भने पनि बैतडीका सबै स्थानीय तहमा भने एक वर्षपछि पुगेका हुन् । बैंकका शाखा स्थापना भएसँगै स्थानीय तहका कर्मचारी जनप्रतिनिधि तथा सर्वसाधारण नागरिकले सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !