२२ बैशाख २०८१, शनिबार

कर्मचारी अभावमा मालपोतको कामकाज प्रभावित


Nepalpatra

१६ मङ्सिर, लहान । कर्मचारी अभावमा सिरहास्थित मालपोत कार्यालयको कामकाज प्रभावित हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

मालपोत कार्यालय सिरहामा प्रमुख मालपोत अधिकृत एक, मालपोत अधिकृत दुई, लेखा अधिकृत एक, नायबसुब्बा ११, खरिदार नौ, सहलेखापाल एक, करार अस्थायी दुई, सवारीचालक एक, श्रेणीविहीन १० गरी ३८ जनाको दरबन्दी रहे पनि हाल मालपोत अधिकृतसहित १७ जना मात्र कार्यरत रहेको कार्यालयका नायबसुब्बा तथा सूचना अधिकारी सुधीर यादवले जानकारी दिनुभयो ।

कर्मचारी अभावका कारण दैनिक कामकाज प्रभावित हुनुको साथै मोठ फाँटलगयतका महत्वपूर्ण फाँटसमेत बन्द रहँदै आएको छ । कर्मचारी अभावका कारण एउटै कर्मचारीलाई दुईदेखि तीन फाँटसम्म हेर्ने गरी जिम्मेवारी तोकिएको छ । कार्यालय प्रमुख र आवश्यक कर्मचारी नहुँदा कार्यालयको कामकाज पूर्ण प्रभावित हुँदै आएको सूचना अधिकारी यादवले बताउनुभयो ।

कर्मचारी नहुँदा कामकारवाहीमा समस्या उत्पन्न भएकोबारे पटक–पटक विभाग र मन्त्रालयमा मौखिक र लिखित जानकारी गराउँदा पनि आश्वासनबाहेक केही पाउन नसकिएको उहाँको भनाइ छ । प्रत्येक दिन कार्यालय खुलेसँगै सेवाग्राहीले कार्यालय भरिभराउ हुने गरे पनि जनशक्ति अभावमा सेवाग्राहीले निकै सास्ती व्यहोर्न बाध्य भएका छन् ।

चिसो बढ्दै

विगत केही दिनयता सिरहामा चिसो बढेको छ । मङ्सिरको शुरुआतसँगै चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवन प्रभावित भएको छ । बिहान ढिलो गरी घाम उदाउने र बेलुका चाँडै सूर्य अस्ताउने गरेकाले चिसो बढ्दै गएको महसुस हुन थालेको छ । चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढ्न थालेका छन् ।

सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । चिसो बढ्न थालेपछि बजारमा मोटो र न्यानो लुगाको बिक्री बढ्ेको छ भने बजारमा सर्वसाधारणको चहलपहल घट्न थालेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !