१८ असार २०८१, मंगलबार

नगरको सार्वजनिक सुनुवाइ : ५३१ योजना सम्पन्न


Nepalpatra

९ मङ्सिर, बैतडी । हरेक तीन/तीन महीनामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने भए पनि बैतडीको पाटन नगरपालिकाले जनप्रतिनिधि आएपछि पहिलो सार्वजनिक सुनुवाइ शनिबार गरेको छ ।

गत आर्थिक वर्षमा ५३१ वटा योजना बजेट विनियोजन गरेर सम्पन्न गरेको जनाइएको छ । ५१ नगरस्तरीय, ३३१ वडास्तरीय र १०३ वटा सशर्ततर्फका योजना सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । गत आवमा नगरपालिकाले रु ४८ करोड ५९ लाख १२ हजार ७४ विनियोजन गरेको थियो ।

नगरपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर ६८ वटा सडकसहित भौतिक पूर्वाधारतर्फ रु पाँच करोड १५ लाख बजेट खर्च गरेको जनाएको छ । नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइका सहभागीहरुले टुक्रे योजनाका कारण विकासको कामले गति नलिएको गुनासो गरेका छन् । धेरै ठाउँमा कार्यकर्तामुखी बजेट भएको समेत उनीहरुले आरोप लगाएका छन् ।

कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै नगरप्रमुख केशवबहादुर चन्दले कतिपय अधिकार अझै स्थानीय तहमा आउन नसकेकाले सोचेअनुसार काम गर्न नसकेको बताउनुभयो ।

यस्तै गत आवको बजेटमा रु तीन करोड ३५ लाखभन्दा बढी बेरुजु देखिएको छ । नगरपालिकाको बेरुजु रकमप्रति पनि सुनुवाइका सहभागीले असन्तुष्टि जनाएका छन् । चालू आवमा नगरसभाले ४५० वटा योजना छनौट गरेको प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !