१४ बैशाख २०८१, शुक्रबार

मदिराका कारण घरेलु हिंसा बढ्दो


Nepalpatra

३० कात्तिक, दार्चुला । नौगाड गाउँपालिका–४ का ४५ वर्षीया कलावती टमटा श्रीमान देवेन्द्र टमटाको यातना सहन नसकी न्याय पाग्दै जिल्ला प्रहरी कार्यालयको महिला सेलमा पुग्नुभयो । दिनहुँ घरमा मदिरा सेवन गरी कुटपिट र गालीगलौच गर्न थालेपछि उहाँ न्याय माग्दै जिल्ला प्रहरी कार्यालय पुग्नुभएको हो । ‘‘एक दिन दुई दिन हैन, दिनहुँ मदिरामा लट्ठिएर गालीगलौज गर्ने, कुटपिट गर्ने, आफूले कमाएको रकमसमेत मागेर मदिरा सेवन गरी आउन थालेपछि यहाँ न्याय माग्न पुगेको हुँ’’ उहाँले भन्नुभयो ।

नौगाड गाउँपालिकाबाट हाल सदरमुकाम खलङ्गामा मजदुरी गर्दै बसेका दुवै जनाबीच मदिराका कारण झैझगडा हुन थालेपछि न्याय माग्न आएको उहाँले बताउनुभयो । घरमा तीन छोरा र दुई छोरी छन् । ‘‘छोराछोरी कसरी पढाउने चिन्ता छैन मदिराले घरबार उजाड बनायो’’ उहाँको भनाइ थियो ।

यो त उदाहरण मात्रै हो, दार्चुलामा पछिल्लो समय मदिराका कारण कैयौँको घरबार बिग्रिएको छ भने मदिराले घरेलु हिंसा, महिला हिंसा तथा ज्यानै गएका छन् । मानव अधिकारको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा एक वर्षको अवधिमा ३२ वटा घरेलु हिंसाका घटना घटेका छन् । अधिकांश घटना मदिराका कारण भएको इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले बताउनुभयो ।

इन्सेकले जनवरी २०१८ देखि हालसम्म जिल्लामा सङ्कलन गरेको घटनाको वार्षिक पूर्व समीक्षा गोष्ठी गर्दै जिल्लामा घरेलु हिंसा बढ्दो क्रममा रहेको जनाएको हो । घरेलु हिंसाको कारक भनेकै मदिरा भएको इन्सकेको ठम्याइ छ ।

एक वर्षको अवधिमा जबर्जस्ती करणी दुई, जबर्जस्ती करणी उद्योग दुई, बाल यौन दुव्र्यवहार एक, ज्यानसम्बन्धी कसुर तीन, कर्तव्य ज्यान एक, बहुविवाहका तीन र सरकारी सम्पत्तिमा क्षति एउटा भएको इन्सेकको तथ्याङ्क छ ।

अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष हीरा अवस्थी जबसम्म जिल्लामा मदिरा निषेध गर्न सकिँदैन तबसम्म महिलामाथि हुने हिंसामा कमी नआउने बताउनुहुन्छ । “हामीले विगतदेखि हरेक क्षेत्रमा मदिरा निषेधको आवाज उठाएका छौँ तर कसैले सुनेको छैन”, उहाँले भन्नुभयो, “जसको फलस्वरुप महिलामाथि हरेक प्रकारका विभेद र हिँसाका घटनाहरु बढ्दै गएका छन् ।”

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले जिल्ला प्रहरी कार्यालयको महिला सेलसम्म आउने अधिकांश घरेलु हिंसामा मदिरा कारक भएको बताउनुभयो । ‘‘सबै ठाउँमा पाइने मदिराको कारण घरेलु हिंसा बढी देखिन्छ’’ उहाँले भन्नुभयो ।

मदिरालाई व्यवस्थित र नियन्त्रण गर्न नसक्दा समस्या बढेको छ । जिल्ला प्रहरी कार्यालयसम्म आउने अधिकांश घरेलु हिंसाका घटना मिलापत्रमै टुङ्गिने गरिएको छ ।

“बिहान श्रीमान्को नाममा उजुरी गर्छन्, बेलुकी हैन गल्ती ग¥यो छोडिदिनुप¥यो भनेर उनै महिला आउँछन्” प्रहरी नायब उपरीक्षक अधिकारीले भन्नुभयो, “जसका कारण घरेलु हिंसाका घटनामा मुद्दा दर्ता हुन नसकेको हो ।”

प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य जिल्लामा आत्महत्या र महिला हिंसाका घटना भयवाह अवस्था देखिएको बताउनुभयो । इन्सेकको तथ्याङ्क हेर्ने हो भने पनि महिला हिंसाका घटना बढिरहेका छन् । प्रहरीको तथ्याङ्कले पनि जिल्लामा घरेलु हिंसा बढी देखिएको उहाँको भनाइ छ ।

डेढ वर्षयता स्थानीय तहमा आउने घटना पनि यिनै घरेलु हिंसाका धेरै रहेको पाइएको छ । यी तथ्याङ्कहरुले हाम्रो समाज खराब दिशातर्फ जाँदैछ भन्ने कुरो देखाएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । घरेलु हिंसा न्यूनीकरणका लागि मदिरा निषेध र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु एकमात्र विकल्प भएको उहाँको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिह बोहराले शिक्षा अभावले पनि घरेलु हिंसाका घटना बढेको बताउनुहुन्छ । “महिलामाथि हुने विभेद क्षम्य हुँदैन, यो संवदेनशील विषय हो” उहाँले भन्नुभयो, “यसका लागि चेतना आवश्यक छ ।” अर्का प्रदेशसभा सदस्य मानबहादुर धाँमी हरेक क्षेत्रमा जनचेतनामूलक शिक्षा आवश्यक रहेको बताउँनुहुन्छ । अहिले न्याय निरुपण गर्ने स्थानीय तह छन्, मानव अधिकारको विषय हरेक स्थानीय तहसम्म पुग्नुपर्छ उहाँले भन्नुभयो, “सचेतनाबिना परिवर्तन सम्भव छैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !