२३ बैशाख २०८१, आइतबार

यात्रु ठगिएको गुनासोपछि स्थानीय तहको सक्रियता


Pachthar

१२ कात्तिक, फिदिम । पाँचथरको यासोकबाट निर्माणाधीन तमोर कोरिडोर सडक हुँदै तराईका जिल्ला झर्ने सवारी साधनमा यात्रु ठगिएको गुनासो सुनिएपछि समस्या समाधान गर्न स्थानीय तहले सक्रियता देखाएको छ ।

विगतमा यासोक–धरान सडकको प्रतिव्यक्ति रु ८०० भाडा लिँदै आएका यातायात व्यवसायीले बडादशैँलगायत पर्वको मौका छोपेर प्रतिव्यक्ति रु एक हजार २०० सम्म भाडा लिएको गुनासो सर्वसाधारणले गरेका थिए । गुनासोपछि स्थानीय प्रहरीको सहयोगमा सवारी नियन्त्रणमा लिई पाँचथरको कुम्मायक गाउँपालिकाले व्यवसायीसँग छलफल गरेको छ ।

प्रहरी चौकी यासोकको सहयोगमा शनिबार सवारीसाधन नियन्त्रणमा लिई आइतबार सर्वपक्षीय छलफलपछि सवारीसाधन छोडिएको छ । आइतबार गाउँपालिका प्रमुख, यातायात व्यवसायी सहितको सर्वपक्षीय छलफलले तत्काललाई दशैँ अघिकै भाडा लिई सवारी सञ्चालन गर्ने तथा काउण्टर खडा गरी टिकट काटेर मात्रै यात्रु बोक्ने सहमति गरेको छ । यासोकबाट मूलघाट, धरान, इटहरी, दमकलगायत स्थानसम्मको भाडा निर्धारण गर्न सुझाव दिन तीन सदस्यीय समिति गठन गरेको गाउँपालिका प्रमुख जयबहादुर चेम्जोङले जानकारी दिनुभयो ।

कुम्मायक गाउँपालिका–१ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीको संयोजकत्वमा हिमाल यातायात सङ्घका अमरसिंह थापा र पाँचथर उद्योग वाणिज्य सङ्घ यासोक शाखाका उपाध्यक्ष महेन्द्र खड्का सदस्य रहेको समिति गठन गरिएको हो ।

उक्त समितिले कात्तिक ३० गते भित्रमा भाडा समायोजनका बारेमा सरोकारवालासँग छलफल चलाउने संयोजक लावतीले जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्र यासोकदेखि तमोर कोरिडोरबाट सुनसरीको धरानहुँदै झापाको दमकसम्म ६ यात्रुबाहक ट्याक्सी सञ्चालित छन् ।

पाँचथरकै तुम्बेवा गाउँपालिकाको केन्द्र मौवाबाट तमोर कोरिडोर हुँदै मूलघाट, धरान र दमक जाने यात्रुबाट प्रतिव्यक्ति रु ८०० देखि रु एक हजारसम्म भाडा असुलिँदै आएको छ । यहाँबाट सञ्चालित सवारीसाधानले यात्रुले जति दुरी यात्रा गरे पनि एक २५ किलोमिटरको भाडा असुल्ने गरेको स्थानीयवासीको गुनासो छ । चर्को भाडा तिर्नुपरेको गुनासो स्थानीयवासीले गरेपछि तुम्बेवा गाउँपालिकाले यातायात व्यवसायीसँग पटक÷पटक छलफल गर्दै आए पनि समस्या समाधान भएको छैन ।

फिदिममा स्वास्थ्य समन्वय कार्यालय स्थापना

सदरमुकाम फिदिममा प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य कार्यालय स्थापना भएको छ । पूर्वी पहाड इलाम, पाँचथर र ताप्लेजुङका स्थानीय तहका स्वास्थ्य शाखा र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयबीच समन्वय गर्ने गरी स्वास्थ्य कार्यालय स्थापना भएको हो ।

तत्कालीन जिल्ला स्वास्थ्य कार्यालयको भवनमा प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य कार्यालय स्थापना भएको हो । कार्यालयको प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले उद्घाटन गर्नुभयो । प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश नं १ का निर्देशक भोगेन्द्रराज डोटेलले महामारी रोग नियन्त्रण, खोपको सुनिश्चितता, तथ्याङ्क अद्यावधिक, अनुगमन, स्थानीय र प्रदेश तहसँग समन्वय गर्न उक्त कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो ।

डोटेलले देशभरका ३५ कार्यालयमध्ये प्रदेश नं १ मा ६ वटा स्थापना भएको बताउनुभयो । स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईंले पाँचथर, ताप्लेजुङ र इलामलाई हेर्ने गरी स्थापित कार्यालयमा १० जना कर्मचारी रहने तथा इलाम र ताप्लेजुङमा दुई गरी जम्मा १४ कर्मचारीको व्यवस्थापन भएको जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयको उद्घाटन गर्दै सांसद नेम्बाङले स्वास्थ्य क्षेत्रको समन्वयमा रहेको अन्योल कार्यालय स्थापनासँगै अन्त्य भएको बताउँनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !