२२ बैशाख २०८१, शनिबार

दुर्गम गाउँमा सोलारबाट बिजुली


Myagdi

९ कात्तिक, म्याग्दी । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–४ चेचुङमा पहिलो पटक बिजुली बलेको छ ।

अमेरिकाको फाइर गिभ संस्थाको सहयोगमा छ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरेर २० घरमा विद्युत् सुविधा पु¥याइएको स्थानीय लोकबहादुर मगरले बताउनुभयो । एकै ठाउँमा राखिएको सोलार प्यानलबाट घरघरमा बिजुली वितरण गरिनाका साथै कुटानी पिसानी मिल पनि सञ्चालन भएको छ ।

बिजुलीको सुविधा भएपछि उज्यालोका साथै टेलिभिजन हेर्न, मोबाइल चार्ज गर्न र बालबालिकालाई पठनपाठन गर्न सहज भएको मगरले बताउनुभयो । प्रत्येक घरमा चार वटाका दरले बल्ब जडान गरिएको छ । गहुँ, मकै, कोदो पिस्न डेढ घण्टा हिँडेर छिमेकी गाउँ खिवाङ पुग्नुपर्ने बाध्यताबाट गाउँलेले मुक्ति पाएका छन् ।

“दुर्गम भएकाले छिट्टै केन्द्रीय लाइन पुग्ने सम्भावना थिएन्, गाउँपालिकाले लघुजलविद्युत् परियोजना बनाउन विनियोजन गरेको बजेट पर्याप्त नहुँदा जनताले कार्यान्वयन गर्न सकेका थिएनन्”, धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले भन्नुभयो, “संस्थाले सौर्य ऊर्जा परियोजना जडान गरेपछि विकट बस्तीका बासिन्दालाई धेरै राहत भएको छ ।”

सौर्य ऊर्जा जडान गर्न संस्थाले रु २० लाखभन्दा बढी सहयोग गरेको समन्वयकर्ता चित्र तिलिजा पुनले बताउनुभयो । कुटानी, पिसानी मिल र सोलार प्यानल राख्ने घर निर्माणका लागि २० घरधुरीले १५ दिनका दरले श्रमदान गरेर भवन बनाएका छन् ।

चेचुङका बासिन्दा यसअघि उज्यालोका लागि टुकीमा निर्भर थिए । सहयोगी संस्थाका एडी र रेविटले सौर्य ऊर्जा परियोजना गाउँपालिकाका अध्यक्ष पुनलाई हस्तान्तरण गर्नुभएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !