२३ बैशाख २०८१, आइतबार

आगलागी पीडितलाई छिमेकीले बनाई दिए नयाँ घर


पर्वत

२७ असोज, पर्वत । आगलागीबाट घरबारविहीन भएका पर्वतका एक वृद्धले आफ्नै छिमेकीको सहयोगमा नयाँ घर पाएका छन् । महाशिला गाउँपालिका–१ होस्राङ्दीका आगलागी पीडित खरिलाल अधिकारीलाई बेलायतमा बस्दै आउनुभएका उहाँका छिमेकी उज्ज्वल गुरुङले नयाँ घर र दक्षिण कोरियामा बस्दै आउनुभएकी दीपा रानाले गोठ निर्माणमा गरिदिनुभएको हो ।

गत वैशाख १६ गते आगलागी हुँदा खरिलालको घर र गोठ जलेपछि उहाँ आफन्तको शरणमा बस्दै आउनुभएको थियो । गोठमा गाईबस्तुलाई खोले पकाउँदै गर्दा आगलागी भएपछि पशु चौपायसहित घरगोठ गुमाउनुभएका अधिकारीलाई गाउँले गुरुङले रु तीन लाख खर्च गरेर सो घर निर्माण गरिदिनुभएको हो । सामाजिक सञ्जालमार्फत् महाशिला गाउँपालिकामा कार्यरत पशु प्राविधिक दिनेश गुरुङले खरिलालको घर निर्माण अभियान सञ्चालन गर्नुभएको थियो ।

निम्न आर्थिक अवस्था भएका खरिलाल नयाँ घर निर्माण भएपछि अहिले प्रफुल्ल हुनुहुन्छ । “यतिधेरै मनकारी व्यक्ति छन् भन्ने मैले सोचेकै थिइन्” नयाँ घर हस्तान्तरण कार्यक्रममा उहाँले भन्नुभयो, “आज मैले नसोचेको बास पाएको छु ।” उहाँलाई बिहीबार महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले सो घर हस्तान्तरण गर्नुभएको थियो । छिमेकीको शरणमा बस्दै आएका खरिलालको परिवार नयाँ बिहीबारदेखि नयाँ घरमा बस्न थालेका छन् ।

यसैगरी होश्राङ्दी घर भई हाल कोरिया बस्दै आउनुभएकी दीपाले गोठ निर्माणका लागि रु एक लाख ३० हजार उपलब्ध गराउनुभएको थियो भने स्थानीयवासी देवीप्रसाद सुवेदीले रु १० हजार खर्चेर विद्युत् जडानमा सहयोग गर्नुभएको अभियानकर्ता गुरुङले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !