२४ बैशाख २०८१, सोमबार

पुरानै स्वरुपमा फर्कदै मल्लकालीन एक मन्दिर


Nepalpatra

१८ असोज, ललितपुर । राणाकालमा स्वरुप परिवर्तन भएको मल्लकालीन एक मन्दिर फेरि पुरानै स्वरुपमा निर्माण हुने भएको छ ।

गाबहालस्थित भाइ देग (मन्दिर) झण्डै आठ दशकपछि पुरानै स्वरुपमा फर्काउन लागिएको हो । यो मन्दिर विसं १९९० को भूकम्पमा क्षतिग्रस्त बनेको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । प्यागोडाशैलीको यो मन्दिर पहिले तीन तला थियो । मन्दिर क्षतिग्रस्त बनेपछि पुनःनिर्माणका क्रममा एक तला बनाइयो । अहिले फेरि पहिलेकै शैली र आकारमा फर्काउन लागिएको हो । उहाँले भन्नुभयो, “अहिले लामो समयपछि फेरि त्यही स्वरुपमा फर्कदैछ ।”

मन्दिर पहिलेको स्वरुपमा फर्काउनका लागि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अग्रसरतामा स्थानीय जुर्मुराएका हुन् । नेपालस्थित नर्वेली दूतावासले रु एक करोड सहयोग गर्ने सम्झौता भएको छ । ललितपुर महानगरपालिकाले रु ५० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कतिपय स्थानीयले समेत मन्दिर पुनःनिर्माणमा योगदान गर्दैछन् । काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटि) ले मन्दिर निर्माणमा प्राविधिक सहयोग गरिरहेको छ ।

सात दशक पहिलेको भगवान् महादेवको यो मन्दिर क्षतिग्रस्त बन्यो । यो मन्दिरलाई त्यतिबेला टालटुले काम मात्रै भयो । त्यतिबेलाका मानिसलाई मन्दिरको वास्तविक स्वरुप थाहा भए पनि युवापुस्ता धेरैलाई थाहा नभएको प्याकुरेलले बताउनुभयो । अहिले विस्तारै मन्दिरको वास्तविक शैलीका बारेमा विभिन्न आधार भेटिन थालेका छन् । कतिपय मन्दिरका भाग त्यति बेलाबाट अहिलेसम्म सुरक्षित छन् । मन्दिरका पुरानो तस्वीरले पनि अहिले रहेको स्वरुप पछि आएर परिवर्तन भएको प्रमाणित गरेको छ । उहाँले भन्नुभयो, “भेटिएका प्रमाणका आधारमा समेत पहिलेजस्तै बनाउन सहयोग पुगेको छ ।”

त्यतिबेला सजिलोको लागि स्वरुप बिगारेर पुनःनिर्माण भएको प्रमुख प्याकुरेलले बताउनुभयो । अहिलेजस्तो प्रविधि नहुनाले पहिले उपलब्ध स्रोतसाधन र जनशक्तिबाट नै काम भएको पाइन्छ । उहाँले भन्नुभयो, “त्यतिबेला भन्नासाथ बनाउनलाई आवश्यक कुरा जुटाउन सजिलो थिएन ।”

२०७२ को भूकम्पले गर्दा यो मन्दिरको पुनःनिर्माण पछाडि धकेलिएको हो । भूकम्पपछि सबैको ध्यान यहाँभन्दा पनि पाटन दरबार क्षेत्रका स्मारक र अरु स्मारकमा तानिएको प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयसम्म पनि यो मन्दिरको पुनःनिर्माण अन्योलमा थियो ।” अन्यत्रको पुनःनिर्माण अघि बढेसँगै अहिले यहाँको पुनःनिर्माणका लागि स्थानीय आफैँ तातेका छन् । स्थानीय तहले अघिल्ला वर्षमा थोरै बजेट छुट्टाउँदा काम धेरै काम हुन सकेको थिएन । यस वर्ष नगर प्रमुख चिरीबाबु महर्जनले मन्दिर पुनःनिर्माणका लागि रु ५० लाख दिने घोषणा गर्नुभएको छ । आर्थिक र प्राविधिक दुवै सहयोगले गर्दा पुनःनिर्माणले तीव्रता पाएको प्याकुरेलले बताउनुभयो ।

पछिल्लो समयमा मन्दिर पुनःनिर्माण धमाधम अघि बढेको केभिपिटिका देशीय निर्देशक रोहित रञ्जितकारले बताउनुभयो । पहिले काम शुरु भएर पनि बीचमा लामो समयसम्म अवरुद्ध भएको थियो ।

यो मन्दिर कहिले र कसले बनायो भन्ने यकिन छैन । पाटन दरबार क्षेत्रभन्दा केही दूरीमा रहेको यो मन्दिर दरबार क्षेत्रका धेरै मन्दिरजस्तै मल्लकालमा बनेको स्थानीय बताउँछन् । मल्लकालमा बनेका उत्कृष्ट संरचनामध्ये यो मन्दिरले छुट्टै विशेषता बोकेको छ । पाटन दरबार क्षेत्र र आसपासमा रहेका मन्दिरलगायतका पुनःनिर्माण भइरहेको छ । कतिपय स्मारकको जिम्मेवारी केभिपिटि, केहि नेपाल सरकार र केहि स्थानीयवासी आफैँले पनि लिएका छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !