२२ बैशाख २०८१, शनिबार

‘समृद्ध नेपालका लागि सशक्त महिला’ अभियान शुरु


Nepalpatra

५ असोज, काठमाडौँ । महिला सशक्तीकरणमा टेवा पु¥याउन ‘समृद्ध नेपालका लागि सशक्त महिला’ अभियान आजदेखि काठमाडौँबाट शुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी, नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी, विवेकशील साझालगायत दलका १०० महिला नेत्रीको भेलाले उक्त अभियान सञ्चालन गरेको हो । स्थानीय तहमा विनियोजित कूल बजेटमा महिला सशक्तीकरणका लागि न्यूनतम २५ प्रतिशत बजेट छुट्याउन उक्त अभियानले माग गरेको छ । सो अवसरमा विज्ञबाट अनुशिक्षण कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।

विज्ञमा अधिवक्ता शशि अधिकारी, ‘लुमन्ती’ नामक सामाजिक संस्थाका अध्यक्ष लजना मानन्धर, मिडिया एडभोकेसी ग्रुपका अध्यक्ष बबिता बस्नेत, मानव अधिकारका लागि महिलाका अध्यक्ष लिली थापा, महिला अधिकारकर्मी नीरा श्रेष्ठ, सञ्चारकर्मीद्वय निर्मला शर्मा र आरती चटौत हुनुहुन्थ्यो । आज आयोजित पत्रकार सम्मेलनमा मिडिया एडभोकेसी ग्रुपका अध्यक्ष बबिता बस्नेतले स्थानीय सरकारले चालू आवको बजेट विनियोजन गर्दा महिलाको आर्थिक सशक्तीकरणका लागि निश्चित बजेट नतोकेपछि उक्त अभियान शुरु गरिएको जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !