२० बैशाख २०८१, बिहिबार

लोकतन्त्र मेला : एउटै छानोबाट लोकतन्त्रबारे जानकारी


loktantra

५ असोज, काठमाडौँ । राजनीतिक दलले एउटै छानोबाट सर्वसाधारणलाई लोकतन्त्रबारे जानकारी दिइरहेका छन् ।

मुलुकमा स्थापित लोकतन्त्रबारे जनतालाई बुझाउन वसन्तपुरमा सञ्चालित ‘लोकतातन्त्र मेला’मा एउटै छानोबाट दलले जानकारी दिइरहेका हुन् । लोकतन्त्रबारे विभिन्न जानकारीमूलक पुस्तक, आफ्नो दलबारे जानकारी, संविधानका मूलभूत कुरा र लोकतन्त्रसम्बन्धी बहसमार्फत लोकतान्त्रिक शासन व्यवस्थाबारे सिकाइरहेका छन् ।

बिहीबारदेखि विधान व्यवस्थापन समिति र अन्तरपार्टी संयन्त्रको आयोजनामा भएको मेलामा सर्वसाधारणले लोकतन्त्रबारे जानकारी लिइरहेका छन् । दक्षिण एशियामा नै पहिलो पटक नेपालमा भएको यो मेलामा सर्वसाधारणले चासोका साथ लोकतन्त्रबारे जिज्ञासासमेत राख्ने गरेका छन् । सङ्घ, प्रदेश र स्थानीय तह हुँदै अन्तर्राष्ट्रिय अनुभवलाई समेत एकै थलोबाट र एउटै कार्यक्रममार्फत जोड्न सहज होस् भनेर मेला आयोजना गरिएको बताइएको छ ।

चितवनका पदमराज सिलवालले लोकतन्त्रबारे आफूले मेलामा धेरै कुरा सिक्न पाएको बताउनुहुन्छ । “यहाँ भएका कक्षमा रहेका कुराले लोकतन्त्रबारे जानकारी भयो”, उहाँले भन्नुभयो, “मेलामा लोकतान्त्रिक व्यवस्थाका विविध पक्षबारे जानकारी लिइयो ।” यस्ता मेला स्थानीय तहसम्म सञ्चालन गर्ने पनि उहाँले बताउनुभयो ।

कीर्तिपुरका शिवचन्द्र महर्जनले एकै ठाउँमा सबै पार्टीका दस्तावेज पाइएकाले अध्ययनका लागि सजिलो भएको बताउनुभयो । मेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी लगायतका कक्ष छन । ती कक्षमा राजनीतिक दलले आफ्ना पार्टीका विधान, प्रतिवेदन र दस्तावेज सर्वसाधारणलाई उपलब्ध गराउने गर्दछन् ।

राजनीतिक दलले छलफल, संवाद र प्रदर्शनी गरेर एकै थलोबाट लोकतान्त्रिक व्यवस्था र लोकतान्त्रिक संस्कारलाई अझ बढी परिष्कृत कसरी गर्ने भन्ने बारेमा जानकारी गराइरहेका छन । नेपालबाट विश्वलाई र विश्वबाट नेपाललाई लोकतान्त्रिक प्रणालीको अनुशरण र अनुकरण गर्ने गराउने वातावरण सिर्जना गरी लोकतन्त्रको सुदृढीकरणमा सहयोग पु¥याउन मेला आयोजना गरिएको हो । सबै पार्टीबीच लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन पनि मेलाको मुख्य उद्देश्य रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउनहुन्छ । उहाँले राजनीतिक दलसँगको दूरीलाई नजिक्याइ हार्दिकताका साथ लोकतन्त्रबारे छलफल गर्न मेलाले विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

“राजनीतिक दलभित्र लोकतन्त्रप्रति एक ढिक्का देखाउन आवश्यक रहेको छ”, उहाँले भन्नुभयो, “त्यसैले सबै दल एउटै छानामुनि भएर लोकतन्त्रलाई अझ बलियो बनाउनका लागि मेलामा जम्मा भएका हौँ ।” मेलामा वसन्तपुरको नासलचोकमा संविधान र लोकतन्त्रसम्बन्धी अन्तक्र्रिया हुने गर्दछ । उक्त अन्तक्र्रियामा चार पार्टीमा प्रमुख नेता सहभागी भएर लोकतन्त्रबारे बहस गर्नुहुनेछ ।

बहसमा आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुभएको थियो । उहाँले लोकतन्त्रलाई सुदृढ गराउनका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभयो । शनिबार राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर उक्त बहसमा सहभागी हुँदै हुनुहुन्छ । मेलामा डेनमार्क, बेलायत, केन्या, पाकिस्तान, भारत र नेपालका सांसदहरु सहभागितामा लोकतन्त्रसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी भइरहेको छ ।

वसन्तपुरमा भने खुला बहसका लागि मञ्च बनाइएको छ । युवा विद्यार्थी र सङ्घसंस्थाले लोकतन्त्रसम्बन्धी बहस सञ्चालन गर्ने गर्दछन् । उक्त मञ्चमा जो कोहीले पनि लोकतन्त्रसँग सम्बन्धित विषयमा बोल्न पाउँछन् । आज ‘महिला र लोकतन्त्र’, ‘सेभ नेपाल भ्याली’ ‘लोकतन्त्रसम्बन्धी विभिन्न मन्तव्य, नेकपा, नेपाली काङ्ग्रेसका नेताहरुको बहस’ ‘सुशासन, समृद्धि र लोकतान्त्रिक प्रक्रियामा युवाको भूमिका’ तथा निर्मलाका लागि न्याय शिर्षकमा कविता वाचनजस्ता कार्यक्रम भएका थिए । कार्यशाला तालीमसमेत सञ्चालन भइरहेको छ ।

कार्यशालामा सांसद, राजनीतिक दलका प्रतिनिधि सहभागी हुने गर्दछन् । ‘प्रभावकारी राजनीतिक हुन ः राजनीतिक दलका नेताहरुले कर्मचारीतन्त्रसंग प्रभावकारीरुपमा कसरी काम गर्ने’ भन्ने सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, ‘मुलुकी संहिताका मुख्य विशेषताहरु’ विषयमा अधिवक्ता गोविन्द बन्दीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

मेलामा नेकपाका तत्कालिन संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र महासचिव मदन भण्डारी, जननायक बिपी कोइराला र लौह पुरुष गणेशमान सिंहलगायत लेखेका पुस्तक र अन्तर्राष्ट्रिय लोकतान्त्रिक अभ्यासका पुस्तकसमेत राखिएका छन् । निःशुल्करुपमा प्रवेशको व्यवस्था गरिएको मेलामा स्थानीय झाँकी, चित्रकला प्रदर्शनी, स्थानीय हस्तकला प्रदर्शनीसमेत राखिएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !