२२ बैशाख २०८१, शनिबार

महानगरले न्युरोडमा पार्किङ हटाइएपछि व्यवसायी आक्रोशित भएर गरे सटर बन्द


न्युरोडमा पार्किङ हटाइएपछि

काठमाडौँ । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेसँगै व्यवसायीले आक्रोशित भएर सटर बन्द गरेका छन् । महानगरले आज मंगलबार बिहानदेखि न्युरोडको कालोपत्र सडकमा सवारी साधन सवारी पार्किङमा रोक लगाएपछि विरोध गरेका हुन् ।

महानगरले मंगलबार बिहानदेखि न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेपछि त्यहाँका व्यवसायीले विरोध जनाएका हुन् । उनीहरूले सटर बन्द गरेका छन्।

महानगरपालिकाले अवैज्ञानिक ढंगले पार्किङ हटाउने निर्णय गरेर आफूहरुलाई समस्यामा पार्ने काम गरेको व्यवयासीहरुको गुनासो रहेको छ । न्युरोडको पार्किङ पुरानो बसपार्कमा कायम गर्ने निर्णयले मन्दीको व्यापारमा थप मन्दी उत्पन्न हुने व्यवसायीहरुको भनाइ छ ।

महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौं टावरमा तीन सयवटा चारपांग्रे र सात सयवटा दुईपांग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए ।

महानगर प्रहरी प्रमुख पाण्डेले आजदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिए । उनले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरिने बताए ।

व्यवसायी यसबारे छलफल गर्न वडा कार्यालय जाने तयारीमा छन् । पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले विरोध जनाएका हुन् । न्युरोड क्षेत्रमा मंगलबार बिहान पार्किङ गरिएका सवारी साधन महानगर प्रहरी टोलीले हटाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !