२२ बैशाख २०८१, शनिबार

पूर्वी नवलपरासीमा गर्भवती महिलाको हत्या, श्रीमान पक्राउ


हत्या

नवलपुर । पूर्वी नवलपरासीमा एक जना गर्भवती महिलाको हत्या भएको छ भने उनको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेक छन् ।

आज आइतबार बिहान करिब १ बजेतिर हुप्सेकोट गाउँपालिका-६ स्थित एक घरमा ३४ वर्षीया गर्भवती महिला चनिसरा लम्कामगरको हत्या भएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको हो ।

उनको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय श्रीमान शेरबहादुर लम्कामगरलाई पक्राउ गरेको हो । घटनाबारे स्थानीयले आइतबार बिहान करिब ७ बजेतिर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार आरोपित श्रीमान शेरबहादुर मानसिक रूपमा अस्वस्थ देखिएका छन् । गएराति श्रीमान-श्रीमतीसँगै खाना खाएर सुतेका थिए । १ बजेतिर भने एक्कासी श्रीमानले श्रीमतीमाथि खुर्पा र कोदालो प्रहार गरी हत्या गरेको देखिएको छ।

शेरबहादुरको टाउकोमा समेत चोट लागेको देखिएको छ । होशमा आएपछि आफ्नी श्रीमती मृत अवस्थामा देखेपछि शेरबहादुर नजिकै रहेका आफ्ना आमा-बुवालाई बोलाउन गएका थिए ।

उनको यही महिना डेलिभरी हुन लागेको थियो । डेलिभरी हुन लागेकाले हल्ला भएको भन्ने सुनेर स्थानीय उक्त घरमा पुगेका थिए। प्रहरी पुग्दा श्रीमान शेरबहादुर पनि घटनास्थलमै थिए । अहिले उनी प्रहरीको नियन्त्रणमा छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !