१८ बैशाख २०८१, मंगलबार

आजदेखि काठमाडौँ महानगरमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने, धूमपान पनि निषेध


काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध गरिएको छ । काठमाडौं महानगरले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा आजदेखि रोक लगाएको हो ।

अब महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूमपान गर्न पाइने छैन । महानगरको स्वास्थ्य विभागले १५ दिन अगाडि सूचना जारी गर्दै आजदेखि लागु हुने गरी महानगरपालिका क्षेत्रभित्र प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपरागसहितका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्णरूपमा प्रतिबन्ध लगाइने जनाएको थियो ।

सूर्तिजन्य पदार्थको सेवनले राज्यको करोडौँ रकम खर्च भइरहेको अवस्था समेतलाई दृष्टिगत गरी यो निर्णय लिइएको महानगरको भनाइ छ । सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा महानगर प्रहरी मार्फत जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय गरिने चेतावनीसमेत महानगरले दिएको छ ।

काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ ले सुर्ती तथा मदिराजन्य पदार्थ विक्री वितरणमा रोक लगाउन सक्ने, निषेध र बिक्री वितरणका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालिकाहरुलाई बिक्री वितरण गराउन नपाइने, सार्वजनिक स्थलहरूको चार किल्ला तोकी सो वरपर सुर्तीजन्य र जङ्क फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने कानुनी व्यवस्था रहेको पनि महानगरको भनाई छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !