२२ बैशाख २०८१, शनिबार

२१ वर्षे युवक सञ्चालक रहेको रेडी ट्रेड प्रालिले ल्याएको थियो ब्रेक सुभित्र ‘सुन’


राजस्व अनुसन्धान विभाग

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन ब्रेक सुभित्र ल्याउने कम्पनी २१ वर्षे युवक सञ्चालक रहेको रेडी ट्रेड प्रा.लि. रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीका अनुसार ब्रेक सुको आयातकर्ता रेडी ट्रेड प्रा.लि. का सञ्चालक २१ वर्षीय दीलिप भुजेल रहेको खुलेको हो । प्रहरीले भुजेललाई पक्राउ गरिसकेको छ ।

‘ब्रेक प्याड’ १६० सेट मगाउने कम्पनी रेडी ट्रेड प्रालिको कार्यालय बुढानीलकण्ठमा रहेको अनुसन्धानबाट पत्ता लागेको छ । उक्त सुन असार ३० गते क्याथे प्यासेफिकको उडानमार्फत हङकङकबाट काठमाडौँ ल्याइएको थियो ।

उक्त सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको पाइएको छ । ब्रेक प्याडभित्र लुकाएको अवस्थामा करिब ८० देखि १ सय किलो सुन भेटिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताएका छन् ।

दोलखाको मेलुङ गाउँपालिका-३ स्थायी बासिन्दा दीलिपसँगै मेलुङ-३ कै ५३ वर्षीय रामकुमार भुजेल पनि पक्राउ परिसकेका छन् । दीलिप र रामकुमार आफन्त भएको पत्ता लागेको छ । पक्राउ परेकालाई म्याद थपका लागि उच्च अदालत पाटन लैजान तयारी गरिएको छ ।

अवैध सुन ल्याउने गिरोहमा संलग्न आरोपमा भारतस्थित पुरानो दिल्ली घर भएर काठमाडौँ बस्ने ५३ वर्षीय थाप्तेन छिरिङसहित ६ जनालाई राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ । बरामद सुनको तौल पनि यकिन गर्न बाँकी रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुङ्गानाले बताए ।

राजस्व अनुसन्धान विभागको टोलीले तस्करीमा संलग्न गिरोहले बा.२ ज २३२४ नम्बरको ट्याक्सीमा राखेर लैजान लागेको अवस्थामा बुधवार साँझ सुन बरामद गरेको थियो ।

भन्सार विभागले बिना जाँच करिब एक सय केजी सुन बाहिरिएपछि एक छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।

उक्त समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । करिब एक सय केजी सुन भन्सार विभागको कार्यक्षेत्रबाट बाहिरिएपछि विभागका महानिर्देशक शोभाकान्त पौडेलले आज छानबिन समिति गठन गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !