२३ बैशाख २०८१, आइतबार

ग्यास विक्रेतामाथि कडाइ गर्ने तयारी


LP gas cylinder

असुरक्षित सिलिण्डरका कारण सर्वसाधारणको ज्यान जोखिममा रहेको भन्ने चिन्तामाझ सरकारले विक्रेता प्रमाणीकरण नगर्ने एलपी ग्यास व्यवसायीहरुलाई कारबाही गर्ने तयारी गरिरहेको बताएको छ। असुरक्षित सिलिण्डरको प्रयोग गरेको भन्दै एक उद्योगमाथि प्रतिबन्ध लगाइएकोमा असन्तुष्ट ग्यास उद्योगीहरुले आन्दोलनमा उत्रने धम्की दिइरहेका बेला आपूर्ति मन्त्रालयले पछिल्लो तयारी गरेको हो।

निश्चित नियम र मापदण्डभित्र रहेर व्यवसाय संचालन गर्नुपर्ने भएपनि सयौं व्यवसायीले त्यसका निम्ति आवश्यक प्रमाणीकरण नगरिकनै व्यापार गरिरहेको भेटिएको छ। खाना पकाउने एलपी ग्यास उद्योग संघका अनुसार नेपालभर ८ हजार ग्यास विक्रेताहरु छन्। आपूर्ति मन्त्रालयको अनुमानमा त्यो संख्या साढे ६ हजारको हाराहारीमा हुनसक्छ।

यसलाई व्यवस्थित गर्न आपूर्ति मन्त्रालय अन्तर्गत गठित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हीत संरक्षण विभागले पटक पटक आह्वान गरेपनि हजारौं व्यवसायीहरुले अझै विक्रेता प्रमाणीकरण नगरेपछि अब विभागले कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ।

विभागका महानिर्देशक गोकुल प्रसाद धितालले भने,”अब प्रमाणीकरण गर्न आएनन् भने उनीहरुलाई ग्यास विक्री वितरण गर्न रोक लगाइन्छ।”

नेपाल आयल निगमको निर्देशिका २०६८ अनुसार प्रमाणीकरण पत्र लिनका लागि ग्यासको तौल नाप्ने मेशिन, आगो निभाउने मेशिन, वितरणको लागी छुट्टै गोदाम हुनुपर्ने, मूल्य सूची बोर्ड हुनु पर्ने जस्ता विषय अनिवार्य छ।

नेपाल एलपी ग्यास उद्योग व्यवसायी संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भन्छन्,”जसले प्रमाणीकरण गरेका छैनन्, उनीहरुलाई अनिवार्य रुपमा असार मसान्तभित्र गरिसक्न सम्बन्धित उद्योगले पत्राचार गर्नेछ। त्यो समयावधि भित्र पनि नगरे साउन १ गतेदेखि हामी आपूर्ति रोक्छौं।”

हालसम्म केवल २३ सय ग्यास विक्रेताहरुले मात्र प्रमाणीकरण गरिसकेको मन्त्रालयले जनाएको छ।

यसबीच सरकार र ग्यास उद्योगीमाझ असुरक्षित सिलिण्डरबारे आइतबारै कुराकानी हुने उनीहरुले बताएका छन्।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !