२६ बैशाख २०८१, बुधबार

चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्ष कैद सजाय


चूडामणि शर्मा

काठमाडौँ । विशेष अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मालाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको हो ।

विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन तीन जना पदाधिकारीबाट ६ अर्ब १५ करोड रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवाना असुल गर्नुपर्ने सजाय निर्धारण गरेको छ । विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार भ्रष्टाचार निवारण ऐन-२०५९ को दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना हुनेगरी सजाय निर्धारण भएको हो ।

उनका अनुसार आयोगका तीन पदाधिकारीलाई जम्मा ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८ सय ४७ रुपैयाँ बिगो र जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँका दरले जरिवाना असुल गर्नुपर्ने सजाय तोकिएको छ । निर्धारित सजायअनुसार दोषी ठहर तीनै जनाविरुद्ध बिगो र जरिवाना जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ तोकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !