२२ बैशाख २०८१, शनिबार

दिवंगत प्रा. डा. उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण


प्रा. डा. उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण

काठमाडौँ । वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा. डा. उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । विसं २०१० पुस ४ मा गोरखाको पण्डित गाउँ लिगलिगमा जन्मिएका प्रा. डा. देवेकोटाको पित्तनलीको क्यान्सरबाट विसं २०७५ असार ४ गते निधन भएको थियो ।

चौतीस वर्षका अवधिमा उनले २५ हजारभन्दा बढी शल्यक्रिया तथा १० लाखभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका प्रा. डा. देवकोटाले वीर अस्पतालमा न्यूरो सर्जरी विभाग तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेका थिए ।

बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल परिसरमा राखिएको सो प्रतिमाको प्रा. डा. दिनेशनाथ गङ्गोल र पूर्वमन्त्री वाचस्पति देवकोटाले संयुक्तरूपमा अनावरण गरे ।

नेपालमा आधुनिक स्नायु शल्यचिकित्सक विधालाई सुरुआत गराउने प्रा. डा. देवकोटाको स्मृतिमा स्थापित उपेन्द्र देवकोटा फाउन्डेसनद्वारा आयोजित सो कार्यक्रममा फाउन्डेसनका अध्यक्ष प्रा डा मधु दीक्षित देवकोटाले नेपालमा स्नायु शल्यचिकित्सा विधाको विकास र विस्तारमा प्रा. डा. उपेन्द्र देवकोटाको भूमिका अतुलनीय रहेको बताइन् ।

उनले प्रा. डा. उपेन्द्रको योगदान चीरस्थायी बनाउन फाउन्डेसनले सामाजिक काम गरिराखेको जानकारी दिइन् । स्नायु विज्ञानको उन्नयन एवं विकास तथा प्रा. डा. उपेन्द्र देवकोटाको योगदानलाई चीरकालसम्म परिचित गराउन गैरनाफा मूलक संस्थाको रुपमा विसं २०७९ फागुन १८ गते फाउण्डेशन स्थापना भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !