४ जेष्ठ २०८१, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरण : थप २ जना काठमाडौंबाट पक्राउ


पक्राउ

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरी अमेरिका पठाउने प्रकरणमा प्रहरीले थप २ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेका छन् ।

काठमाडौंको टोखा बस्ने केसी र मोरङ घर भएका चौधरीलाई आज पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनीहरुलाई उपत्यका अपराध अनुसन्धान काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौंबाट पक्राउ गरेको हो । उनका अनुसार उनीहरू उक्त घटनामा विचौलिएका रूपमा काम गरेको पाइएपछि पक्राउ गरिएको हो ।

यसअघि पक्राउ परेकामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् ।

पक्राउ पूर्जी जारी भएका नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी अहिले सम्पर्कमा नभएकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसरले उनीहरू विरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ । उक्त घटनामा हालसम्म १०६ जनाले २० वटा जाहेरी दिएका छन् । उनीहरूले कुल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको भनी जाहेरी दिएका छन् ।

उनीहरूलाई वानेश्वर क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका दुवै जनालाई आजै थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइसकेको पनि रेग्मीले जानकारी दिए ।

यो प्रकरणमा पक्राउ पर्नेको संख्या १० जना पुगेको छ । पक्राउ पुर्जी जारी भएका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव एवं सांसद टोपबहादुर रायमाझी भने फरार रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !